माघ ८, काठमाण्डौ । कुपन्डोलस्थित हिमालय होटलमा मङ्गलबार राष्ट्रिय युवा सम्मेलन हुँदै थियो, जहाँ सातै प्रदेशका युवाहरू भेला भएका थिए । ‘समानताको पुस्ता’ भन्ने नारासहित सुरू भएको सम्मेलनमा काठमाडौंका थुपै्र प्रभावशाली व्यक्ति र सेलिब्रिटीहरू उपस्थित थिए, तर उनीहरू सबैको नजरमा थिइन् – वीरगञ्जकी १४ वर्षीया मुस्कान खातुन । मुस्कानमाथि गत भदौ २० गते एसिड प्रहार भएको थियो । एसिड प्रहार गर्नेहरूले सायद मुस्कानको मुस्कान खोस्न खोजेका थिए, तर त्यस्तो त्रासद घटना भोगेर बौरिँदा पनि मुस्कानले आफ्नो मुस्कान सँगालेर राखेकी छिन् ।
महिलाविरूद्ध हुने सबै प्रकारका हिंसाविरोधी संयुक्त राष्ट्रसंघीय समितिकी उपाध्यक्ष वन्दना राणाले जब मुस्कानको हातमा माइक राखिदिइन्, तब उनले मीठो मुस्कान फ्याँकिन् । उनको ओजअगाडि मिस नेपाल अनुष्का श्रेष्ठ पनि फिक्का देखिन्थिन् । तेजाबले पनि जलाउन नसकेको आफ्नो मुस्कान छर्दै मुस्कानले राष्ट्रिय युवा सम्मेलनका सहभागीहरूलाई आफ्नो संघर्ष र साहसको कथा सुनाइन् ? त्यो विहान (भदौ २० गते) करिब ६ बजे म विद्यालय जाँदै थिएँ ।
अङ्ग्रेजी माध्यमबाट पढाई हुने भएकाले विहानै विद्यालय जानुपर्थ्यो । अरु दिन बुवाले भाइ र मलाई विद्यालयसम्म पुर्याइदिनु हुन्थ्यो । तर, त्यो दिन उहाँलाई सञ्चो थिएन । त्यसैले, म र भाइमात्रै विद्यालय गइरहेका थियौँ । भाइ मभन्दा पछाडि हिँड्दै थियो, म चाहिँ अलि अगाडि ।बाटोमा मलाई सधैं सताइरहने एउटा केटाले जग दिँदै भन्यो – पानी खाने हो ? खाऊ म नखाने भन्दै ऊसँग तर्किएर फटाफट अगाडि बढेँ । उसले मलाई मेरो नाम लिँदै पछाइरह्यो । म रोकिइनँ ।
अलि पर पुगेपछि यसो हेरेको – उसले मेरो जीउमा त्यो जगको पानी खन्याउन खोज्दै रहेछ, मैले स्कुल ब्याग उचालेर हत्त न पत्त अनुहार छोपेँ । त्यो जगमा पानी होइन, एसिड रहेछ ।
म जल्न थालेँ । लाग्यो – मलाई जीउँदै जलाइँदै , मैले पहिले पनि एक दुई चोटि जलन सहेकी थिएँ, झुक्किएर आगो छोइपठाउँदा तर, एसिडको जलन त आगोको भन्दा धेरै पीडादायी हुँदो रहेछ । अनुहारको दायाँ भाग, छाती र हातमा एसिड परेछ । बाटोमा हिँडिरहेका अरू विद्यार्थी साथीहरू मतिर दौडिँदै आए ।
कसैले मेरो बुवाको नम्बर सोध्यो । मुश्किलले बुवाको नम्बर दिएँ । त्यसपछि म बेहोशमा भएँ । पछि थाहा पाएँ–मलाई नारायणी अस्पताल लगिएछ । होशमा आउँदा मैले आफूलाई सम्हाल्न सकिनँ । हातले अनुहार छाम्दै रोएँ । अरूले हौसला त दिन्थेँ, तर त्यसले मलाई खासै छुँदैन थियो । त्यो घडीमा मलाई केही कुराले टुट्न दिएको थिएन भने त्यो हो – परिवारको माया र सहयोग ।
नारायणी अस्पतालमा प्राथमिक उपचारपछि मलाई काठमाडौंको कीर्तिपुर अस्पताल ल्याइयो । मेरो उपचार अझैं सकिएको छैन । मलाई कतिले सोध्छन्–एसिड हान्ने केटासँग पहिले प्रेम सम्बन्ध थियो ? वा, उसले मलाई प्रेम गर्थ्यो ?
मलाई एसिड हान्ने सम्साद मियाँ र हान्न लाउने माजिद आलमप्रति म प्रेम त के, कुनै भाव नै राख्दिन थिएँ । उनीहरू मलाई विद्यालय जाँदा पछ्याउँथे । म खुरूखुरू आफ्नो बाटो लाग्थेँ ।
त्यो घटना हुनुभन्दा केहीअघि म उनीहरूबाट आजित भइसकेको थिएँ । मलाई उनीहरूको बारेमा आमालाई भनेँ । आमाले बुवालाई भन्नु भएछ । बुवाले उनीहरू सम्झाउनु भयो, त्यस्तो हर्कत दोहोरिए थप्पड हान्ने धम्की पनि दिनुभयो । उनीहरू केही दिन त मेरो पछि लागेनन्, तर त्यसपछि त्यही क्रम दोहोरिन थाल्यो ।
होश आएको कति दिनपछि मैले ऐनामा आफ्नो अनुहार हेरेँ । मैले आफूलाई चिन्न सकिनँ । लाग्यो– म मुस्कान होइन । डाक्टर, आफन्त र साथीहरूले मलाई ढाडस दिए । धेरैले मोबाइलमार्फत् भिडियो सन्देशहरू पनि पठाए । एसिड प्रहार विरोधी अभियानकर्मी उज्ज्वल विक्रम थापाको शब्दहरूले मेरो मन छोए। उहाँ भन्नु हुन्थ्यो – तिमी कोठाभित्र लुकेर बस्यौ भने एसिड हान्नेहरूको जित हुन्छ । तिमी हार्छौँ । उनीहरूलाई जित्नु छ भने आफैंसँग लड, लुकेर नबस, बाहिर जाऊ ।
मैले, उहाँको कुरालाई मनन गरेँ । र, आफ्नो अनुहारसँग तर्सेर आफूलाई कोठाभित्र कैद गर्नुभन्दा समाजमा घुलमिल हुने आँट गरेँ । यसैले, म आज तपाईंहरूसामु उभिन सकेकी छु ।
म अब फेरि वैशाखदेखि विद्यालय जान चाहन्छु । नौ कक्षामै भर्ना हुन्छ । पढेर डाक्टर बन्न चाहन्छु । तर, नेपालमा मजस्ता मुस्कानहरू सुरक्षित छैनन्। मधेसमा बेटी पढाऊ, बेटी बचाऊ अभियान सुरू भएको छ । तर, विद्यालय जाने बेटीलाई सुरक्षा दिन सकिएन भने अभियानको औचित्य के ? काठमाण्डौप्रेसमा सरिसा अछामीले लेखेकि छिन् ।