माघ ९, रसुवा । पहिरोका कारण एक सातादेखि अवरुद्ध रसुवागढी–केरुङ सडकखण्ड सुचारु भएको छ । गत शुक्रबारदेखि अवरुद्ध चिनियाँ भुभागको रसुवागढी–केरुङ सडकखण्ड बुधबार दिउँसोदेखि सुचारु भएको हो । चिनियाँ भुभागको चार स्थानमा गएको पहिरो पन्छाएसँगै बुधबार दिउँसोबाट सडक सुचारु भएको चिनियाँ पक्षले जानकारी दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।
दुई साता आयात निर्यात नहुने
नेपाल र चीनबिच सञ्चालनमा रहेको अन्तर्रा्ष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट अझै १५ दिन आयात–निर्यात नहुने भएको छ । चिनियाँ नयाँ वर्षका कारण चीनमा सार्वजनिक बिदा हुने भएकाले आयात–निर्यात नहुने भएको हो । चिनियाँ भन्सारका अनुसार मंगलबारदेखि नै सार्वजनिक बिदा दिइएको छ ।