माघ ९, काठमाण्डौ । अन्नपूर्ण आधारशिविरको पदमार्गमा हराइरहेका ४ जना कोरियन पदयात्री र ३ जना नेपाली गाइडहरु अझै भेटिएका छैनन् । उनीहरुको खोजीमा नेपाली सेनाले सक्रियता देखाईरहेको छ । माघ ७ गतेदेखि नेपाली सेनाको सेकेण्ड रेञ्जर गणका गणपतिसहितको टोली पर्यटक र गाइडको खोजीमा अन्नपूर्ण आधार शिविरमा सक्रिय रहेका छन् ।
स्थानीय तथा अन्य पर्यटकको सूचनाको आधारमा आधार शिविरको हिउँ पहिरोमा सेनाले ५ मिटर तलसम्म खनेर उनीहरुको खोजी गरिरहेको छ । माघ ७ र ८ गते नेपाली सेनाको टोलीले हिउँमा खनेर उनीहरुको उद्धारका लागि पहल गरेको हो । यद्यपि यतिबेलासम्म कुनै उपलब्धि प्राप्त गर्न नसकिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । माघ ७ र ८ गते साँझ ५ बजेसम्म खोजी गरिएपनि हराइरहेका पदयात्री प्राप्त गर्न नसकिएको सेनाले जनाएको छ ।