माघ १०, काठमाण्डौ । बागमती प्रदेश सरकारले शुक्रबार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । तामाङ समुदायको चाड सोनाम ल्होसारका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिइएको वाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्रालयले सूचना जारी गर्दै प्रदेश सरकारको गएको पुस २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शुक्रबार सार्वजनिक बिदा दिइएको जनाएको छ ।
यस्तै वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले शुक्रबार १० गते प्रदेशका १३ वटै जिल्लाका सरकारी तथा सार्वजनिक निकायमा बिदा हुने बताएका छन् । मन्त्री जम्कट्टेलले काठमाण्डौ उपत्यकामा पनि वाग्मती प्रदेशकै हिस्सा भएकाले त्यहाँ बिदा नहुने भन्ने भनाइ गलत भएको स्पष्ट पारेका छन् ।