माघ १६, काठमाण्डौ । एउटा अन्तर्राष्ट्रिय अध्ययनअनुसार नेपाली नागरिकमा लोकतन्त्रप्रति दक्षिण एशियका अरु देशको तुलनामा सबैभन्दा बढी असन्तुष्टि रहेको देखिएको छ । यूकेको क्याम्ब्रिज विश्वविद्यालयका अध्यनकर्ताहरूले सन् २००५ यता गरेका तीनवटा सर्वेक्षणहरूमा सहभागीमध्ये आधादेखि तीन चौथाइसम्म नेपालीहरूले आफ्नो लोकतन्त्रको कार्यशैलीप्रति असन्तुष्टि देखाएको बीबीसीले उल्लेख गरेको छ ।
उक्त अध्ययनले निकालेको निष्कर्षअनुसार दक्षिण एशियाका अन्य देशहरूमा लोकतन्त्रप्रति मानिसहरूको विश्वास अन्यत्रको तुलनामा उच्च रहेको बेला नेपाल भने अपवाद बनेको छ । क्याम्ब्रिजका अध्येताहरूले सबैभन्दा ठूलो विश्वव्यापी तथ्याङ्कको अध्ययन गरेर निकालेको भनिएको निष्कर्षअनुसार विकसित देशहरूमा लोकतन्त्रप्रतिको अविश्वास २५ वर्षयता सबैभन्दा उच्चस्तरमा पुगेको छ । अध्ययनममा ब्रिटेन र अमेरिकामा पनि ठूलो असन्तुष्टि देखिएको छ ।
प्रतिवेदन लेखक रोबेर्टो फोअले विश्वभर लोकतन्त्र अस्वस्थ अवस्थामा रहेकोू धारणा व्यक्त गरेको बीबीसीले उल्लेख गरेको छ । विश्वका १५४ देशमा गरिएको उक्त अध्ययन प्रतिवेदन अनुसार सन् २०१९ को तथ्याङ्कले लोकतन्त्रप्रति मानिसहरूको असन्तुष्टि ४८ प्रतिशतबाट बढेर ५८ प्रतिशत पुगेको देखिएको छ ।