माघ १८, दाङ । चरनका लागि दाङ ल्याइएका २०० भेडा अज्ञात रोगले मरेका छन् । पूर्वी रुकुमको भूमे गाउँपालिका १, लुकुमका चार जना भेडापालक किसान पनि यो वर्ष भेडालाई चिसोबाट जोगाउन भन्दै आफूहरुले पालेका सयौँ भेडा बाख्रा साथमा लिएर मङ्सिर दोस्रो साता दाङतिर झरेका थिए ।
मङ्सिर १० गते रुकुमबाट हिँडेका उनीहरु पुस २९ गतेमात्रै घोराही उपमहानगरपालिका १९ को पाँच पोखरीमा आइपुगेको भेडा किसान प्रेमबहादुर पुनले बताए । करिब दुई महिनाअघि प्रेमबहादुरसहित भेडाको बथान लिएर हिँडेका धर्म बुढामगर, धर्मकुमारी पुन र रामकृष्ण पुन रोल्पाको जलजला, भनभने, थामा हुँदै घोराही पाँचपोखरीमा आइपुगेका थिए ।
प्रेमबहादुर पुनका अनुसार उनले १२०, धर्म बुढाले पनि १२० वटा, धर्मकुमारी पुनका ११५ र रामकृष्ण पुनले ११५ वटा भेडा लिएर दाङ आएका थिए । चार सय बढी भेडा बाख्रा चराउन हिँडेका ती किसानको भेडाको अवस्था भने अहिले ठीक छैन । केही दिनयता अचानक भेडा मर्न थालेका छन् । बितेको दुई हप्तामा उनीसँगै रहेका भेडामध्ये करिब २०० बढी मरेका छन् । दैनिक सरदर १०र१२ वटासम्म भेडा मर्ने गरेको प्रेम बुढाले बताए । रासस