माघ १८, काठमाण्डौ । मकवानपुरमा महिलाको नाममा दर्ता भएका उद्योग तथा व्यावसायिक संस्थाको सङ्ख्यामा वृद्धि भएको छ । राज्यले महिलालाई आर्थिक हिसाबले बलियो बनाउनका लागि उद्योग तथा व्यवसायमा राजश्व छुटको व्यवस्था गरेकाले महिला उद्यमी तथा व्यवसायीको सङ्ख्यामा वृद्धि भएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय हेटौँडाको तथ्याङ्कको आधारमा चालु आर्थिक वर्षमा पुरुषको तुलनामा महिलाको नाममा दोब्बर उद्योग दर्ता भएका छन् ।
हेटौँडाको घरेलु तथा साना उद्योगमा निजी फर्म रजिष्ट्रेशन ऐन २०३४ ले तोकेका उद्योग तथा व्यापारिक फार्म दर्ता गर्दा यस आवदेखि सरकारले छुट दिएपछि महिलाको नाममा उद्योग तथा व्यापारिक फार्म दर्ता सङ्ख्या बढेको जनाइएको छ । चालु आवको पुस मसान्तसम्ममा महिलाको नाममा मात्रै ६०८ उद्योग तथा व्यावसायिक संस्था भएको जनाइएको छ । पुरुषको नाममा भने ३७६ उद्योग दर्ता भएका छन् ।
यस्तै यस वर्ष एक हजार २२६ पुरुषको नाममा व्यापारिक फर्म दर्ता भएको छ भने एक हजार ५४३ महिलाको नाममा फर्म दर्ता भएका छन् ।