फाल्गुण १९, काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) लाई विभिन्न मुलुकले अवलम्बन गरेको उडान सम्बन्धी रणनीतिको अध्ययन गर्न निर्देशन दिएको छ । भाइरसको प्रभाव न्यूनीकरण तथा रोकथामको लागि नेपालले उडान रोक्नु आवश्यक छ वा छैन छलफल गरि दुईदिन भित्र प्रतिवेदन पेश गर्न मन्त्रालयले निर्देशन दिएको हो ।
आइतबार पर्यटन मन्त्री योगेश भट्टराईसहित मन्त्रालयमा आयोजित कोरोना भाइरसको विश्वव्यापी प्रभाव तथा मन्त्रालय र अन्तर्गतका निकायहरुबाट गर्नुपर्ने रोकथाम एंव पूर्वतयारीका कार्यहरु सम्बन्धमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयको आगमन तथा प्रस्थान कक्षबाट आवतजावत गर्ने सबै यात्रुको स्वास्थ्य जाँच गर्ने प्रवन्ध तत्काल मिलाउने व्यवस्था गर्न कार्यदल गठन गरेको छ ।
कार्यदलमा नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का निर्देशक देवचन्द्रलाल कर्णको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा। हेमन्त चन्द्र ओझा, विमानस्थल अध्यागमन कार्यालयका निर्देशक राजेश पन्थी, एयरलाइनस अपरेटर कमिटिबाट शरद काप्ले र सुरक्षा निकायका प्रतिनिधि रहेका छन् । मन्त्रालयले कार्यदललाई स्वास्थ्य परिक्षणका लागि थप स्थान र उपकरणसमेतको आवश्यकता पहिचान गरी आजैदेखि तयारी गर्न निर्देशन दिएको छ । त्यस्तै नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार कार्यक्रम हाललाई स्थगन गर्ने तयारी गरेको छ ।