बैशाख ४,दोलखा । जिल्लाको भिमेश्वर नगरपालिकामा जनप्रतिनिधिको लापरवाहीका कारण लकडाउनको चरम उल्लंघन भएको भन्दै स्थानीयवासी चिन्तित बनेका छन् । स्थानीय जनप्रतिनिधिले नै वेवास्ता गर्दा लकडाउन उल्लंघन भएको र गाउँ नै त्रसित बन्नु परेको एक स्थानीयले अनलाइन केन्द्रसँग बताए । वडा नम्बर ४ नमूना बस्तीमा खुला रुपमा आवाज जावात भइरहेको भन्दै उनले पटकपटक वडाअध्यक्षसँग कुरा गरेपनि सुनुवाई नभएको गुनासो गरे ।
नमुना बस्तीको काम लकडाउन शुरू भएपछि गर्न थालेको भन्दै स्थानीयहरूले आफूखुशी जिल्लाबाहिरबाट कामदार आएको बताएका छन् । स्थानीयका अनुसार अधिकांश कामदार अधिकांश जिल्ला बाहिर ,दाङ ,रौतहट ,रुकुमका रहेका छन् । स्थानीय सरकारले यस्ता गतिविधिलाई रोक्न कदम नचालेको भन्दै स्थानीय चिन्तित बनेका हुन् ।
उनले गाउँमा स्थानीय सरकार भएपनि त्यसको आभास नभएको भन्दै जनप्रतिनिधिकै मिलेमतोमा लकडाउन उल्लंघन हुँदा कोरोना भाइरस संक्रमणको त्रास बढेको गुनासो गरे । उनले भने–‘जनप्रतिनिधिकै मिलेमतोमा लकडाउन उल्लंघन भइरहेको छ, हामी त्रासमा छौं ।’ नगरपालिकाको ४ नम्बर वडामा लकडाउनको चरम उल्लंघन भएको हो ।
वडाध्यक्ष हरिवंश चौलागाईंलाई लकडाउनमा कडाई गर्न पटक पटक आग्रह गरिएपनि उनले वडावासीलाई नटेरेको उनले सुनाए । यता वडाअध्यक्ष हरिवंश चौलागाईंले भने आफ्नो वडामा कुनै पनि लकडाउन उल्लंघनका घटना नभएको दावी गरे । चौलागाईंले स्थानीय स्तरमै सुरक्षित भएर काम गर्न दिइएकोमा केही अराजक पात्रहरूलाई त्यस्तो सह्य नभएको भन्दै वडाबासीको स्वास्थ्यप्रति आफू चिन्तित भएको सुनाए ।
अनलाइन केन्द्रसँग बोल्दै उनले भने–केही अराजक पात्रहरूले त बाटोमा ढुंगा राख्ने, बन्द गर्ने लगायतको काम गरिरहेका छन् । तर लकडाउन उल्लंघन भने भएको हैन ।’ उनले आफ्नो वडामा सुरक्षित रहेर जिविकोपार्जनका लागि खेतिकिसान गर्न दिइएको बताए । उनले आफ्नो वडामा कोही नयाँ मानिस नआएको र आफूहरू पनि सुरक्षाका लागि लकडाउनको पूर्ण पालना गर्न लागिपरेको दावी गरे ।