साउन ८,धादिङ । अविरल वर्षापछि पहिरो अवरुद्ध पृथ्वी राजमार्ग अझै खुलेको छैन । लगातारको वर्षापछि सोमबार आएको बाढीपहिरोले धादिङ र चितवनको सिमानामा पर्ने मौवाखोलाको पुल बगाउँदा आवागमन पूर्ण बन्द भएको छ । भारी बर्षाका कारण नागढुंगा देखि मौवा खोलासम्म १५२ स्थानमा पहिरो झरेको छ।
यसैबीच बुधबार धादिङ क्षेत्र नम्बर १ का सांसद भुमि त्रिपाठी सडक विभागका महानिर्देशक केशवकुमार शर्मा,प्रधानमन्त्रीका विकास सल्लाहकार गजेन्द्र थपलिया,प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, जिल्ला समन्वय समिती धादिङ प्रमुख जनन्नाथ नेपालको टोलीले क्षतिग्रस्त पुलको निरिक्षण गरेको छ ।
अनुगमन पछि प्रधानमन्त्रीका विकास सल्लाहकार थपलियाले पृथ्वी राजमार्गको मौवा खोलाले पुलको एप्रोच सडक पूर्ण क्षति गरेकोले अझै कम्तिमा ३ दिनमा मात्र सवारी आगमन सुचारू गर्न सकिने बताए।
वर्षाका कारण उर्लिएको खोलाले धादिङतर्फ पुलको ढलानसँग जोडिएको सडक बगाएपछि राजधानीबाट पृथ्वी राजमार्ग हुँदै पूर्वपश्चिम आवागमन प्रभावित भएको छ भने काठमाडौँतर्फ जाने सयौँ सवारी साधन मौवाखोलाबाट नै फर्किएका छन् । खोलाले पुल र सडक जोड्ने १२ मिटर भाग भत्काएको छ । खोलाले भेलले भत्काएको भागमा सडक डिभिजन कार्यालयले नेपाली सेनाको सहयोगमा ग्याबिन जाली भर्ने काम गरिरहेको छ ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्ण अधिकारीका अनुसार नेपाली सेना र सडक विभागका प्राविधिक लगायतका जनशक्ति ग्याबिन जाली भर्ने काममा लागिरहेका छन् । अहिले नेपाली सेनाका ५० र सडक विभागका झण्डै १०० जना जनशक्ति उक्त पुलमा जाली भर्ने काममा सम्लग्न छन् ।
राजधानी जोड्ने प्रमुख मार्ग भएकाले सवारी चापलाई मध्यनजर गर्दै सक्दो छिटो सडक खुलाउन काममा तीव्रता दिइरहेको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताएका छन् । अधिकांश ठूला मालवाहक सवारी साधनहरूले काठमाडौँ जान यही सडकखण्ड प्रयोग गर्दछन् । लकडाउनले यात्रुवाहक सवारी नचलेपनि दैनिक आवातजावत गरिरहेका ठूला मालवाहक र निजी सवारीसाधन अलपत्र परेका छन् । बाढीपहिरोले राजमार्ग छेउछाउका घर, पसल, अस्थायी प्रहरी चौकी, सवारीसाधन र सडक नै बगाएको छ ।
पृथ्वी राजमार्गको हुग्दीखोला, मौवाखोला, जवाङखोला आसपास क्षेत्र, बादरेखोला, बैरेनी, चालिसे, फूर्केखोला, छहरे लगायतको क्षेत्रमा राजमार्ग भन्दा माथिबाट पहिरो र लेते आएर थुप्रिएका कारण राजमार्ग अवरुद्ध मार्ग भने एकातर्फी खुलाइएको छ । सदरमुकाम प्रवेश गर्ने कालु पाँडे मार्गमा सडक भासिनाले मालवाहक गाडीहरू आवत जावत हुन सकेको छैन ।