भाद्र ११,काठमाडौँ । सरकारले जारी गरेको निषेधाज्ञाको पहिलो हप्ता काठमाण्डौ उपत्यकामा ६ हजार ३ सय १७ गाडी होल्डमा परेका छन् ।
होल्डमा परेका गाडीहरुलाई बेलुकी ८ बजेतिर छाड्ने गरिएको र जबरजस्ती गर्नेलाई ३ दिनसम्म पनि होल्ड गर्ने गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले बताउनुभयो ।
उहाँका अनुसार कारबाहीमा पर्ने गाडीमध्ये ८० प्रतिशत दुईपाङ्ग्रे अर्थात मोटरसाइकल रहेका छन् । यस्तै निषेधाज्ञाको यो समयमा जाँडरक्सी खाएर गाडी चलाउनेहरु पनि कारबाहीमा परेका छन् ।
जाँडरक्सी खाएर गाडी चलाउनेहरुलाई नियमअनुसार कारबाही गरिएको महाशाखाले जनाएको छ । निषेधाज्ञा थप भएसँगै ट्राफिक प्रहरीले थप कडाइ गरेको छ ।
अत्यावश्यक सेवाकाबाहेक अरु गाडी नचलाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ । औषधि तरकारी, प्रेस, खाद्यान्नलगायत अति आवश्यक सामग्री बोक्ने गाडीलाई भने ट्राफिक प्रहरीले छाड्ने गरेको छ ।