भाद्र १५, बीरगन्ज । महानगरपालिकाका मेयर विजयकुमार सरावगीका पिता चिरञ्जीवीलाल सरावगीको निधन भएको छ । गएराति १२ बजेर ५ मिनेटमा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहेका सरावगीका पिताको ७८ वर्षको उमेरमा निधन भएको हो ।
उनको सोमबार १० वजे पशुपतिनाथको आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम तय गरिएको नगरप्रमुख सरावगीका प्रेस संयोजक गोविन्द देवकोटाले जानकारी गराएका छन् । पिताको मृत्यु बारे नगरप्रमुख सरावगीले पनि सामाजिक सञ्जालको फेसबुकको आफ्नो आधिकारिक आइडीबाट एउटा पोष्ट लेख्दै जानकारी गरेका छन् ।
नगरप्रमुख सरावगीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको कन्ट्याक्ट ट्रेसिङ गर्दा गत साउन २२ गते उनका पिता चिरञ्जीवीलाल सरावगी, आमा, श्रीमती, छोरा र छोरीलगायात परिवारका अन्य कयौं सदस्यमा पनि कोरोना देखिएको थियो ।
पितामा कोरोना सङ्क्रमण पुष्टि भएपछि काठमाडौँमै रहेर आफ्नो उपचार गरिरहेका नगरप्रमुख सरावगीले स(परिवारलाई थप उपचारका लागि वीरगञ्जबाट काठमाडौँ बोलाएका थिए । सरावगीका पितालाई साउन २४ गते ग्राण्डी अस्पतालमा उपचारका लागि भर्ना गरिएको देवकोटाले जानकारी दिए ।
भदौं २ गते उनि कोरोनामुक्त भएपनि मुटु र मृगौलामा जटिल समस्या देखिएपछि अस्पतालकै अतिसघन कक्षमा राखेर उनको उपचार सुरु गरिएको थियो ।
उनि स्थापित समाजसेवीका रुपमा परिचित थिए । उनि बीरगन्ज उधोग वाणिज्य सङ्घको पुर्व अध्यक्ष, मारवाडी परिषद्को केन्द्रीय अध्यक्ष, लायन्स क्लवको गभर्नरलगायत अन्य कयौं सामाजिक सङ्घ संस्थामा समेत आबद्ध थिए । नगरप्रमुख सरावगी उनका जेठा छोरा हुन् ।