भाद्र २९,धादिङ । जिल्लाको धुनिवेशी नगरपालिका वडा नम्बर ८ भण्डारथोकमा ग्यास पड्केर आगलागी भएको छ । भण्डारथोककी जमुना भुजेलको घरमा ग्यास लिक भएपछि ग्यास पड्किएको धुनिवेशी नगर प्रहरी प्रमुख किरण गिरीले अनलाईनकेन्द्रलाई बताए ।
आगलागीबाट भुजेलको घर जलेर नष्ट भएको छ । आगलागीमा परेर भुजेल बेहोस् भएकी छिन् । उनलाई उपचारको लागी काठमाडौँ ल्याइएको गिरीले बताएका छन् । उनको अवस्था सामान्य रहेको छ । उनलाई उपचारको लागि किर्तिपुर अस्पताल राखिएको पारिवारिक स्रोतले बताएको छ ।
अहिले आगलागी नियन्त्रणमा आएको छ । इलाका प्रहरी कार्यालय खानिखोलाको टोली,स्थानीय बासिन्दा र नगर प्रहरीको टोलीले आगो नियन्त्रण लिएको छ । आगलागीबाट घरमा रहेको अन्न,लत्ताकपडा, सबै जलेर नष्ट भएको छ ।