कस्तो मासु कसरी खाने ? नजाने जान्छ ज्यान

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ कार्तिक ३, सोमबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कार्तिक, काठमाण्डौ । दसैँ र मासु एक–अर्कासँग परिपूरक मानिएका विषय हुन् । त्यसैले अधिकांशका घरमा दसैँका लागि मासु अनिवार्य परिकार बनाएको हुन्छ । दसैंका वेला घरमा अरू पनि विभिन्न परिकार पाक्छन्, तर मुख्य परिकार मानिन्छ माछामासु । दसैंको परिकारमा मासु भएन भने अन्य परिकार परिकार नै होइन कि जस्तो लाग्छ । त्यसैले मासु दसैँको मुख्य परिकार हो । तर, यो कति खाने ? कसरी खाने ?

पौष्टिक दृष्टिकोणले माछा–मासु पोषिलो खाना हो । तर, आवश्यकभन्दा बढी खाएमा यसले स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ । स्वस्थ व्यक्तिले पनि कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरामा विचार पु¥याउनु आवश्यक छ । झन् उच्च कोलेस्टेरोल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएकाहरूले मासु खाँदा धेरै सावधानी अपनाउनुपर्ने अनिवार्य छ । साधारणतयाः मासु प्रोटिनको राम्रो स्रोत भए पनि कोलेस्टेरोल, चिल्लो पदार्थ, ट्राइग्लिसिराइड पनि प्रसस्त हुने भएकाले सन्तुलित रूपमा उपभोग गर्न नसकेमा स्वास्थ्य समस्या सृजना हुने गरेको पाइन्छ ।

यसमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । यसमा जिङ्क, भिटामिन बी, पोटासियमजस्ता तत्व पनि पाइन्छन् । यी तत्व हाम्रो शरीरका लागि एकदमै आवश्यक छन् । सन्तुलित भोजनमा मासुको प्रयोग अनिवार्य नै मानिन्छ । तर, मासुबाट प्राप्त हुने तत्व त्यति सजिलैसँग भने प्राप्त गर्न सकिँदैन, यदि सही र सन्तुलित ढङ्गले प्रयोग गरिएन भने । यदि तपाईं–हामीले सुरक्षित ढङ्गले राख्न नजानेमा त्यही मासुबाट विभिन्न भयानक रोग उत्पन्न हुने, सर्ने खतरा रहन्छ ।

रातो मासु अर्थात् खसी–बोका, राँगा, बँदेल, भेँडा आदिको मासुमा प्रोटिनका साथै ‘फ्याटी एसिड’ पनि प्रसस्त मात्रामा हुने गरेको पाइन्छ । मासुमा भएको कोलेस्टेरोलले भन्दा फ्याटी एसिडले बढी खराब गर्ने चिकितसकहरु बताउने गर्दछन् । किनकि शरीरभित्र फ्याटी एसिडसँग कोलेस्टेरोल मिलेपछि मात्र खराब चिल्लो पदार्थ बन्न पुग्दछ् । त्यसैले मासु खाँदा चिल्लोमा विशेष ध्यान दिनुपर्छ ।

वयष्क तथा वृद्धहरूमा साधारणतया बढी स्वास्थ्य समस्या देखिने हुनाले रातो मासु खाँदा विशेष सावधानी अपनाउनु पर्छ । कतिपय समुदायले सांस्कृतिक प्रचलन र धार्मिक मान्यता अनुसार रातो मासुलाई नै विशेष प्राथमिकता दिएका हुन्छन् । यस्तो स्थितिमा सकेसम्म कम परिमाण प्रयोग गरेमा स्वाथलाई लाभ मिल्द्छ। सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी पकाउनु राम्रो हुन्छ । ‘ग्रिल्ड’, ‘बेक’ वा उसिनेर पकाउँदा चिल्लो पदार्थको परिमाण कम हुन सक्छ ।यस्तै, विभिन्न अङ्गका मासु मुटु, कलेजो, मृगौला, फोक्सो आदि पनि मासुको परिकारका रूपमै प्रयोग गर्ने गरीन्छ । यी अङ्गका मासुमा कोलेस्टेरोलको साथै भिटामिन ‘ए’, ‘डी’, ‘ई’ र केही मात्रामा भिटामिन ‘बी’ पाइन्छ । तामा, लौहतत्व, जिङ्क जस्ता खनिजतत्व पनि यी अङ्गमा प्रसस्त मात्रामा पाइन्छ ।

कलेजो फलामको राम्रो स्रोत भए पनि यसमा रासायनिक पदार्थहरू फोहरका रूपमा जम्मा हुने भएकाले सकेसम्म कलेजो उपभोग नगर्दा राम्रोहुन जान्छ । रातो मासु प्रोटिनको स्रोत भए पनि स्वास्थ्यका दृष्टिले त्यति उपयुक्त नभएको हुँदा कहिलेकाहीँ थोरै परिमाणमा मात्र खानु राम्रो हुन्छ ।

सेतो मासु भन्नाले कुखुरा, हाँस, विभिन्न चराचुरुङ्गीको मासु भन्ने बुझिन्छ । यस प्रकारको मासु प्रोटिनको उत्तम स्रोत हुनुका साथै रातो मासुको दाँजोमा चिल्लो पदार्थ कम भएको पाइन्छ । चराको प्रकार, कुन अङ्गको मासु र पकाउने विधिअनुसार चिल्लोको मात्रा फरक–फरक हुन्छ । टर्कीको छातीको छाला नभएको मासुमा १८ प्रतिशत चिल्लो हुन्छ भने सोही भागको कुखुराको छालारहित मासुमा २४ प्रतिशत चिल्लो हुन्छ ।

यसैगरी, छालासहित कुखुराको खुट्टा, पँखेटा, साँप्रोमा चिल्लो पदार्थ, कोलेस्टेरोल र क्यालोरीको मात्रा बढी हुन्छ । कम मात्र चिल्लो प्रयोग गरी पकाउँदा र छाला निकाल्दा ‘तृप्त फ्याटी एसिड’ कम हुन्छ । ग्रिल, बेक गरी मासु पकाएको छ भने खानेबेला मात्र छाला निकाल्दा राम्रो हुन्छ ।

विशेषगरी मासुका विभिन्न परिकार बनाएर खाने चलन हुन्छ, तर सानो लापरबाहीले गर्दा दशैं मनाउन भनेर आएका आफन्तजन र पाहुनाहरू बिमारी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्थासमेत आउने गरेको छ । सोही कारण दशैंमा मासुका परिकारको सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्नु आवश्यक छ ।

यस्तै, कुखुरा तथा अन्य चराचुरुङ्गीको मासु प्रयोग गरी बनाएको ससेज, हटडग पनि स्वस्थकर हुँदैनन् । चराचुरुङ्गीको प्रकार अनुसार पनि चिल्लोको प्रतिशत फरक–फरक हुन्छ । कुखुरा र टर्कीको मासुमा झन्डै त्यति नै चिल्लो हुन्छ भने हाँस तथा यस्तै खालका चराको मासुमा चिल्लो बढी हुन्छ । जबकि अस्ट्रिच र परेवाको मासुमा चिल्लो, कोलेस्टेरोल र क्यालोरी कम हुन्छ । रातो मासुको दाँजोमा यस प्रकारका मासुमा फ्याटी एसिड कम हुने भएकाले उपयुक्त पकाउने विधि छनोट गर्न सके स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

खाद्य तथा मासु विज्ञ केपी लम्साल र कुमार चालिसेसँगको कुराकानीमा आधारित

ताजा अपडेट

खोजी गर्नुहोस