बैशाख १९,काठमाडौँ । सडक भासिए पछि अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ । १८ घण्टादेखि ठप्प भएको राजमार्ग बिहान १० बजेदेखि खुलेको हो ।
दुईतर्फी नै सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । हिजो दिउँसो ४ बजे धादिङको धार्केमा गणेश खोला पुल नजिकै सडक भासिएपछि पृथ्वी राजमार्ग ठप्प भएको थियो ।
जैसवारका अनुसार भासिएको भागमा माटोले पुरेर र पर्खाल लगाएर एकतर्फी सडक खुलाइएको हो । साँघुरो ठाउँका कारण सडक मर्मतमा ढिलाइ भएको थियोे । सेना र सडक विभागका कर्मचारीलगायतको टोली सडक खुलाउन खटिएका छन् ।
आज सडक खुले पनि दिनभरजसो नै यो क्षेत्रमा चाप पर्ने सम्भावना छ । सडकको दुईतर्फी नै गाडीको लामो लाइन लागेकाले लामो जाम छ । पृथ्वी राजमार्ग भएर ६८ जिल्लाबाट दैनिक हजारौँ सङ्ख्यामा गाडी र यात्रु आवतजावत गर्ने गरेका छन् ।