टान निर्वाचनमा राजेन्द्र सापकोटा: ट्रेकिङ क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन लाग्ने अगुवा

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०८१ भाद्र ९, आईतबार (७ महिना अघि)
  • ६२९ पटक पढिएको
टान निर्वाचनमा राजेन्द्र सापकोटा: ट्रेकिङ क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन लाग्ने अगुवा

भाद्र ९,काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को नयाँ नेतृत्वका लागि व्यवसायी राजेन्द्रप्रसाद सापकोटा प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् । १८ बुँदे घोषणापत्रसमेत अघि सारेर निर्बाचनमा होमिएका सापकोटा लामो समय पर्यटन क्षेत्रमा सक्रिय व्यक्ति हुन् । उनि नेपालको ट्रेकिङ क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन लाग्ने अगुवामध्येका एक हुन् । उनै सापकोटाले घोषणापत्रमा पदमार्गहरूको संरक्षण र विकासलाई केन्द्रमा राखिएकोले आफ्नो समुहले निर्वाचन जित्नेमा ढुक्क जस्तै रहेको अनलाइनकेन्द्रलाई बताए ।

अनलाइनकेन्द्रसंग कुराकानी गर्दै सापकोटाले नेपालको पर्यटन क्षेत्रमा पदयात्रा पर्यटन र पर्वतारोण पर्यटनले ६० प्रतिशत हिस्सा ओगट्ने भएकोले मुख्य रुपमा विदेशीहरु यसकै लागि नेपालमा आउने र यसलाई थप विस्तार गर्दै लैजान सरकारसंग सहकार्यको हात अघि बढाउनुपर्ने बताए । पदमार्ग बचाउने अहिलेको प्रमुख दायित्व रहेको उनको भनाइ छ । विकास निर्माणको नाममा जथाभावी बाटो लैजाने र पदमार्ग विस्थापित गर्ने काम रोक्नपर्ने सापकोटा बताउछन् ।

नेपालमा बनेका पर्यटन पदमार्गलाई सरकारले नै घोषणा गर्नुपर्ने र त्यसको संरक्षण तथा प्रबद्र्धन गर्न टानसंग सहकार्य गर्ने विषयमा आफु केन्द्रित हुने उनको भनाई छ । सापकोटा पर्यटन क्षेत्रमा रहेको श्रमिकको हकहितको लागि समेत आफुले आवाज उठाउने बताउछन् । नेकपा एमालेनिकट पर्यटन व्यवसायी र कांग्रेसनिकट पर्यटन व्यवसायीको साथ पाएका उनले ग्रासरुटका व्यवसायीलाई समेत विश्वासमा लिन पर्यत्न गरेका छन् । पदयात्रा व्यवसायको दीर्घकालीन अस्तित्वका लागि हाल कायम रहेका पदमार्गहरूको संरक्षण र नयाँ पदमार्गहरूको निर्माणलाई राष्ट्रिय महत्वको प्राथमिकतामा राख्ने उनको टिमको घोषणापत्रमा उल्लेख छ ।

पदयात्रा पर्यटनलाई माध्यमिक शिक्षादेखि नै अध्ययनको विषय बनाउने, स्वदेशमै रोजगारीको अवसर बढाउने, पदयात्रासम्बन्धी अनुमतिपत्रहरूमा लगाइएको १३ प्रतिशत भ्याट फिर्ता गर्न, अब लागू नगर्न सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

टिम्स कार्डबाट भएको आम्दानीलाई पर्वतीय पर्यटन श्रमिकहरूको सामाजिक सुरक्षा, पदमार्गहरूको स्तरोन्नति र पोर्टर सेल्टरहरूको निर्माणमा खर्च गर्ने योजना घोषणापत्रमा समावेश गरिएको छ ।

सापकोटा समूहको वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा भीम प्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा, महासचिवमा राजेन्द्र प्रसाद सुवेदी, सचिवमा रिन्जी जङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले र सह कोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा रहेका छन् । त्यसैगरी सदस्यहरुमा सागर राई, सुमन अर्याल, राजु गुरुङ, दिनेश तिम्सिना, विश्व दाहाल, भुवन बहादुर खड्का, दावा ग्याल्सेन लामा, छुप्ते लामा र पवित्रा तामाङ रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस