मंसिर ३, काठमाण्डौँ । अन्नपूर्ण संरक्षण क्षेत्रमा गत कात्तिक महिनामा ३३ हजार तीन सय १० विदेशी पर्यटक भित्रिएका छन् । जसमध्ये दक्षिण एसियाली मुलुकका ११ हजार छ सय ७८ र अन्य मुलुकका २१ हजार छ सय ३२ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ ।
आयोजना प्रमुख डा रविन कडरियाका अनुसार गत साउनयता ८३ हजार ३१ विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका हुन् । गत वर्ष सोही अवधिमा ६७ हजार चार सय ४२ जना पर्यटकले ‘एकयाप’ को भ्रमण गरेका थिए । गत आवमा दुई लाख २२ हजार एक सय ८० पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा चालु आवमा दुई लाख ५० हजारभन्दा बढी पर्यटक भित्रने अपेक्षा एक्यापको छ ।
गत असोजयता पर्यटकको आवागमन बढेको उनको भनाइ छ । असोजमा ३० हजार सात सय ३२ विदेशी पर्यटक उक्त क्षेत्र भ्रमणका लागि पुगेका थिए । जसमा एसियाली मुलुकका ११ हजार नौ सय ८५ र अन्य मुलुकका १८ हजार सात सय ४७ पर्यटक थिए ।
अन्नपूर्ण चक्रीय पदमार्ग आसपासका गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको संख्या गत वर्षभन्दा यसवर्ष बढेको एक्यापले जनाएको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरिएको छ । सडक र हवाई मार्ग भएर बर्सेनि उल्लेख्य संख्यामा आन्तरिक पर्यटक एक्यापका विभिन्न गन्तव्यस्थल पुग्ने गरेका छन् ।