मंसिर २५, काठमाण्डौँ । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन रेबान पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी २६औँ पोखरा सडक महोत्सव हुने भएको छ ।
‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नाराका साथ आगामी पुसको १३ देखि १७ गतेसम्म सडक महोत्सव हुन लागेको २६औँ पोखरा सडक महोत्सवका संयोजक विकास भट्टराईले जानकारी दिए । उनका अनुसार हरेक वर्ष लेकसाइडको तीन किलोमिटर क्षेत्र लेकसाइडको फिस्टेल गेटदेखि खहरेसम्मलाई समेटेर सडक महोत्सव गर्न लागिएको हो ।
महोत्सव पोखरामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न महत्वपूर्ण बन्दै गएको रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलले उल्लेख गरे । कला संस्कृति प्रवर्द्धनसँगै स्थानीय सामग्रीलाई बजारीकरण गर्न महोत्सव उपलब्धिपूर्ण बन्दै गएको उनले बताए ।