पौष १८, वीरगञ्ज । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा मधेसको सांस्कृतिक पहिचान झल्किने परम्परागत पहिरनको संरक्षण र प्रवर्द्धन गर्न धोती दिवस मनाइएको छ ।
जनमत पार्टी पर्साको आयोजनामा वीरगञ्जको मुख्य केन्द्र घण्टाघर चोकमा सम्पन्न कार्यक्रममा सहभागीहरूले धोती र कुर्ता पहिरिएर मधेसी समुदायको सांस्कृतिक धरोहरलाई उजागर गरेका थिए ।
जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफले धोती दिवसको उद्देश्य नेपालका विविध समुदायका परम्परागत पोसाकलाई सम्मान गर्दै बहु सांस्कृतिक राष्ट्रको पहिचान बलियो बनाउने रहेको बताए । “धोती हाम्रो पहिचान मात्र होइन, यो हाम्रो सांस्कृतिक धरोहर हो । यसलाई राष्ट्रिय स्तरमा मान्यता दिलाउन धोती दिवस मनाएका हौँ,” उनले भने ।
कार्यक्रममा सहभागीहरूले धोतीसहित अन्य परम्परागत पहिरनहरूलाई पनि राष्ट्रिय मान्यता दिनुपर्ने माग पनि राखेका थिए । उनीहरूका अनुसार नेपाल बहुभाषिक र बहु सांस्कृतिक देश भए पनि एउटा समुदायको मात्र पहिरनलाई राष्ट्रिय पोसाकका रूपमा चित्रण गर्दै आएको परिपाटी तोड्न यस्ता कार्यक्रमहरू आवश्यक छन् ।
जनमत पार्टीले धोती दिवसलाई देशव्यापी रूपमा मनाउने योजना बनाएको छ । धोती दिवसको उद्देश्य बहु सांस्कृतिक र बहुपहिचानयुक्त नेपालमा हरेक समुदायको परम्परागत पहिरनलाई राष्ट्रिय पोसाकका रूपमा स्वीकृति दिलाउनु पनि रहेको पार्टीको धारणा छ । नेपालजस्तो सांस्कृतिक विविधता सम्पन्न देशमा सबै समुदायको पहिरनलाई सम्मान गर्नुपर्ने माग राख्दै सहभागीहरूले धोती दिवसले अभियानलाई गति दिने विश्वास व्यक्त गरेका थिए ।
धोती दिवसले परम्परागत पहिरनप्रतिको सम्मान र संरक्षणको आवश्यकता उजागर गर्नुका साथै, राष्ट्रिय पहिचानलाई बहु सांस्कृतिक दृष्टिकोणबाट परिभाषित गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।