माघ १,काठमाडौँ । दशौँ राष्ट्रिय योग दिवसका अवसरमा आज योग अभ्यास र त्यसको महत्वका बारेमा चर्चा गर्दै काठमाडौँको कमलादीस्थित ‘स्काईवाक टावर’ मा योग दिवसको आयोजना गरिएको छ । स्काईवाक, अष्टाङ्ग योग, योग भुमी, बिश्व शान्ति ध्यान केन्द्रको संयुक्त आयोजनामा आज उक्त स्काइ टावरको दुई सय ५६ फिट माथी रहेको स्काईवाकमा दसौं राष्ट्रिय योग दिवसको आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा अष्टाङ्ग योग,कृतिपुर योग समाज, तारकेश्वर योग केन्द्र,अनामनगर महिला योग समाज तथा योग भुमीमा गरी करिब एक सय ५० जनाहरुको सहभागिता रहेको ‘स्काईवाक टावर’का प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले अनलाइनकेन्द्रलाई जानकारी दिए ।
उनले भने, “दसौं राष्ट्रिय योग दिवसका अवसरमा हामीले टावरको दुई सय ५६ फिट माथी रहेको स्काईवाकमा योगाभ्यास गरेका छौँ । अब प्रत्यक हप्तामा यहाँ योगाभ्यासको आयोजनालाई निरन्तरता दिइने छ ।”
साहसिक योगाभ्यासको विकास गर्ने उदेश्यले आज ‘स्काईवाक टावर’ मा योग दिवसको आयोजना गरिएको आयोजकले जनाएको छ । योग शिक्षालाई सबैतहमा अझ फराकिलो बनाउदै स्वस्थ्य नागरिकको विकास गर्ने विषयलाई आफुहरुले प्राथमिकतामा राखेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।
योगका आयामलाई सन्तुलित रुपमा जीवनपद्धती बनाउने कार्यमा दिवशले पे्ररणा दिने बिश्व शान्ति ध्यान केन्द्रका योग गुरु स्वामी कल्याणले बताए । आफैलाई आफैले बुझ्ने परम साधनको रुपमा योग साधनलाई बुझ्नुपर्ने उनको भनाई थियो ।
आजको योगाभ्यासमा एकसय आठ सूर्य नमस्कार गरिएको थियो । बिहान ६ बजेदेखि ९ बजे सम्म सुरु भएको उक्त योगाभ्यासमा महिला तथा पुरुषहरुको उल्लेख्य सहभागिता रहेको थियो