माघ १, काठमाडौँ । ग्लोकल आफ्टर स्कुल प्रालिको आयोजनामा ग्लोकल स्किल वीक २०२५ सफलतापूर्वक सम्पन्न भएको छ । माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री शरतसिंह भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू, र १०० भन्दा बढीको उत्साहजनक उपस्थिति रहेको थियो ।
कार्यक्रम हिजो सोमबार द सोल्टी होटेलमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले भने, “हामीले सीप र रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्छ । हाम्रा युवाहरु विदेश पलायन भइरहेका छन् तर किन ? यसमा धेरै दृष्टिकोणहरु छन्। कसैको दृष्टिकोणमा यो सोसल स्टेटस हो, कसैको लागि बाध्यता हो भने कसैको लागि राम्रो अवसरहरूको खोजी । कारण जे भए पनि हामीले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ ।
विभिन्न क्षेत्रहरूमा रोजगारीका अवसरहरू पहिचान गर्नुपर्छ । र, सबैभन्दा महत्वपूर्ण कुरा समाजका हरेक तह र तप्काका मानिसले श्रमको सम्मान गर्न सिक्नुपर्छ ।” एक हप्तासम्म सन्चालन गरिएको उक्त ग्लोकल स्किल वीकमा सीपमुलक तालिमहरु लगायत सीपयुक्त कार्यशाला, तालिम, केस स्टडीहरु एवम विभिन्न मनोरन्जनात्मक गतिविधिमार्फत सीपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोशिस गरिएको थियो । कलकारखाना, शैक्षिक संस्था एवम विभिन्न निकायसँगको साझेदारीको लक्ष्य लिई सीपमुलक रोजगारीका अवसर, सीपप्रतिको बढदो महत्व, व्यापार, सेवा, आधुनिक प्रविधिदेखि लिएर कला तथा संस्कृति झल्किने किसिमले सीपको महत्व उजागर गर्ने लक्ष्यका साथ पौष २२ देखि पौष २९ सम्म स्किल वीक कार्यक्रम सन्चालन भएको थियो ।
यस कार्यक्रममा कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य, एवम विज्ञान तथा प्रविधि गरी ४ फरक क्षेत्रका सीपहरु प्रदर्शन गरिएको थियो । कार्यक्रममा यिनै ४ विधाका ४ प्रेरक व्यक्तित्वहरुलाई ग्लोकल स्किल हीरो अवार्ड २०२५ बाट सम्मानित गरिएको थियो । कलाको पहिलो स्तम्भ अन्तर्गत गायक तथा गीतकार सुशान्त केसीलाई सम्मान गरिएको थियो । उनी २०२४ मा स्पटिफाइमा सर्वाधिक सुनिने नेपाली गायक हुन्। यस वर्ष बार्दली, पर्ख न, झ्यालबाट, सारंगीजस्ता हिट गीत दिएका सुशान्तलाई स्पटिफाइमा सुन्नेको संख्या बढ्दो छ । संगीतमार्फत्कथा भन्न सक्ने उनको क्षमताले उनलाई विश्वभरका श्रोताहरूले रुचाएका छन् ।
आमालाई समर्पित उनको चर्चित गीत “आमा” ले धेरै मानिसको भावनालाई छोएर नेपाली संगीतमा एक अमर कृतिका रूपमा रहेको छ । त्यसैगरी, उद्यमशीलता विधामा स्किल हिरोको रूपमा सामाजिक उद्यमी र खाली सिसी म्यानेजमेन्ट प्रा. लि. का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आयुषी केसीलाई सम्मान गरियो । “खाली सिसी फ्रेन्ड्स” अन्तर्गत खालि सिसीले १३,००० भन्दा बढी फोहोर बेच्ने व्यक्तिहरुको सञ्जाल बनाएको छ जसले नेपालमा फोहोरलाई कुशलतापूर्वक एवम सहज रुपमा व्यवस्थापन गर्दै आएको छ ।
आयुषी २०१८ मा फोब्र्सको ३० अन्डर ३०, एसियाको सामाजिक उद्यमी वर्गमा पर्न सफल भएकी थिईन । साथै २०१९ मा सामाजिक उद्यमशीलताको क्षेत्रमा उनको योगदानको कदर गर्दै एशिया सोसाइटी २०१९ को सदस्यका रूपमा पनि सम्मानित गरिएको छ । खाली सिसी म्यानेजमेन्टले फोहोरमैला संकलन गर्ने व्यक्तिहरूलाई संगठित गर्दै उनीहरूको कामलाई मर्यादित बनाउने गरी काम गरेको उनको भनाइ छ ।