माघ ३, भक्तपुर । भक्तपुरको दुधपाटीमा रहेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जग्गाको अभावलाई बहाना मात्र बनाएको जनप्रतिनिधीहरुले आरोप लगाएका छन् ।
विगतमा जग्गा दिनुहोस् भन्दै आएका अस्पतालका तात्कानिल निर्देशक डाक्टर प्रेम ज्ञवाली भएपनि हालका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ अहिले ३१ रोपनी जमिन दिइसेकेपछि अस्पतालको भवन बनाउन आनाकानी गरेको चाँनारायण नगरपालिकाको आरोप छ ।
प्रत्यारोपण केन्द्रले विभिन्न स्थानको जग्गा अवलोकन गरिसकेपछि अन्तिममा गएर चाँगुनारायण नगरपालिका ३ मा रहेको थानाको पाखा भन्ने स्थानको जग्गामा आवश्यक पूर्वाधार निर्माणका लागि उत्तम हुने निष्र्कष निकालेको थियो ।
आफ्नै नाममा पर्याप्त जग्गा हुँदाहुँदै पनि भक्तपुर अस्पतालको नजिकै सानो ठाउँबाट सञ्चालन भइरहेको चाँगुनारायण नगरपालिकाको ३ नं वडाध्यक्ष श्याम सुन्दर धिमालले बताए । वडाअध्यक्ष धिमालले भने “अस्पतालकै नाममा जग्गा हुँदै गर्दा पनि भवन निर्माण गर्न किन आनाकानी भइरहेको थाहा हुन सकेन । ”
उक्त स्थान नै अस्पताल बनाउनकालागि भौगोलिक रुपमा योग्य ठहर भएपछि अस्पतालले २०७७ साल असोज २१ गते सो जग्गा प्राप्तिका लागि चाँगुनारायण नगरपालिकासँग माग गरेको थियो । नगरपालिका कार्यपालिकाले अस्पतालको माग बमोजिम असोज २५ गते नै उक्त जग्गा नेपाल सरकारको प्रचलित कानुन बमोजिम प्राप्त गर्न सिफारिस गर्ने निर्णयसहित अस्पताललाई पत्राचारसमेत गरेको वडाध्यक्ष धिमालले जानकारी दिए ।
अस्पतालले त्यसको ३ दिन पछि अर्थात २८ गते नै उक्त जग्गा प्राप्तिकालागि स्वास्थ्य मन्त्रालयसँग अनुमति माग गरेको थियो । अस्पताललाई जग्गाको आवश्यकता रहेको बुझेर स्वास्थ्य मन्त्रालयले कात्तिक ५ गते नै सचिवस्तरीय निर्णय गरेर माग गरिएको जग्गाका लागि अनुमतिसमेत दिइसकेको थियो ।
अस्पतालले त्यसलगत्तै लिजमा जग्गा उपलब्ध गराउनका लागि स्थानीय सिफारिस समितिबाट सिफारिस गरिपाउँ भनेर जिल्ला प्रशासन कार्यालय भक्तपुरसँग माग गरेको थियो । उक्त मागका आधारमा तत्कालीन प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा बसेको वैठकले वार्षिक न्यूनतम ३ लाख ३१ हजार ९८०
रुपैयाँ राजस्व तिरेर ३१ रोपनी ७ आना जग्गा लिजमा उपलब्ध गराउन नेपाल सरकार भूमि व्यवस्था मन्त्रालयलाई सिफारिस गरेको थियो । मन्त्रालयले उक्त जग्गा अस्पताललाई उपलब्ध गराउन मंसिर १७ गते मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेको थियो । पछि २०७८ साल जेठ १३ गते बसेको मन्त्रिपरिषद् वैठकबाटै सो जग्गा अस्पताललाई उपलब्ध गराउने निर्णय भएपछि मालपोत कार्यालय र अस्पतालबीच जेठ १८ बाट नै जग्गा अस्पतालको नाममा लिजमा दिने सम्झौतामा हस्ताक्षर भइसकेको थियो ।
जग्गाधनी प्रमाणपत्र अस्पतालले आफ्नै नाममा लिएर पनि जग्गाको अभावलाई अस्पताल विस्तारको बाधाका रुपमा देखाइरहेको चाँगुनारायण ३ का वडाध्यक्ष धिमालको आरोप छ । जग्गा प्राप्त गरि प्रारम्भिक स्थलगत नापी कार्यसमेत सकेपछि अस्पतालले निर्माण कार्य भने सुरु नगरेको उनले बताए । अस्पताललाई निर्माण कार्य सुरु गर्नका लागि धेरैपटक अनुरोध गर्दापनि वेवास्ता गरिरहेको उनको भनाइ छ ।