माघ १०, काठमाण्डौँ । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले औपचारिक रूपमा बुटवलमा आफ्नो सेवाको सुरुवात गरेको छ । आज बिहीबार बुटवलको डि क्राउन इनमा आयोजित उद्घाटन कार्यक्रममा यसको घोषणा गरिएको हो ।
काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा र चितवनमा आफ्नो सेवा विस्तार गरिसकेको फुडमाण्डुले १,००० भन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी गर्दै ३ लाखभन्दा बढी ग्राहकवर्गलाई सेवा पु¥याउँदै आएको छ । कम्पनीले हालै ʻवानमार्ट’ नामक नयाँ सेवाको पनि सुरुवात गरेको छ जसले किराना तथा अन्य उपभोग्य वस्तुहरुको तुरुन्त डेलिभरी गर्दछ ।
बुटवलमा आयोजित उद्घाटन कार्यक्रममा फुडमाण्डुकी ब्रान्ड र मार्केटिङ म्यानेजर इनेशा भट्टराईले आफ्नो विचार राख्दै भन्नुभयो, “हामी फुडमाण्डुलाई बुटवलमा पनि ल्याउन पाउँदा उत्साहित छौं । अब बुटवलवासीहरूले आफूलाई मनपर्ने रेस्टुरेन्टबाट केही क्लिकमै खाना अर्डर गर्न सक्नुहुनेछ । हामी बुटवल र आसपासका क्षेत्रका ग्राहकहरूलाई सेवा प्रदान गर्न निकै उत्सुक छौं ।”
त्यसैगरी कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले आफ्नो विचार राख्दै भन्नुभयो, “बुटवलमा फुडमाण्डुको सेवा विस्तार गर्नु हाम्रो लागि एक महत्वपूर्ण उपलब्धि हो । पार्टनर रेस्टुरेन्टहरूको बलियो सञ्जाल र गुणस्तरीय सेवाप्रति प्रतिबद्धतासहित हामी बुटवलका बासिन्दाहरूलाई उत्कृष्ट फुड डेलिभरी अनुभव प्रदान गर्न उत्साहित छौं ।”