पर्सामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख घुस खाँदै ठिक्क : तस्करीका घटनाहरु बढ्यो

पर्सामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख घुस खाँदै ठिक्क : तस्करीका घटनाहरु बढ्यो

माघ १४, वीरगंज । पर्साको अमरपट्टी नाकामा केही महिनादेखि जारी तस्करी अझै रोकिएको छैन । नेपाल प्रहरीका एसपी कुमोद ढुङ्गेल सरुवा भइसकेपछि अर्को एसपीले पर्साको चार्ज नलिँदा यस क्षेत्रमा तस्करी झन् बढेको छ । यसबीच सशस्त्र प्रहरीका डिआईजी कालीदास धवजीले पर्सामा दुई दिन बसेर सीमा नाका अवलोकन गर्दै मातहतका सशस्त्र प्रहरी एसपी र डिएसपीहरूलाई तस्करी रोक्न कडा निर्देशन दिएर फर्किएका थिए । तर, तस्करी रोक्न कुनै प्रभावकारी कदम उठाइएको छैन ।

पर्साका ग्रामीण इलाकाका नाकाहरूमा अहिले पनि खुलेआम तस्करी भइरहेको छ । विदेशी मालसामान नेपालमा चोरबाटोबाट भित्र्याउँदा सरकारको करोडौं रुपैयाँ बराबरको राजस्व चुहावट भइरहेको छ । तर, पर्साका दुवै प्रहरी संगठनका प्रमुखहरू मौन बसेका छन् ।

स्रोतका अनुसार, नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै प्रमुखहरूले भारतीय नागरिक विकास कुमारसँग मोटो रकम खाएका कारण तस्करी रोक्न सक्रियता देखाएका छैनन् । स्रोतको दाबीअनुसार अमरपट्टी नाका अहिले पूर्ण रूपमा भारतीय नागरिक तथा कुख्यात तस्कर विकास कुमारको नियन्त्रणमा छ। उनीमार्फत अन्य साना तस्करहरूले पनि अवैध रूपमा मालसामान ओसारपसार गरिरहेका छन् ।

भारतीय र नेपाली बजारको राम्रो जानकारी राख्ने कुमार हुन्डी कारोबारमा समेत सक्रिय छन् । अमरपट्टी नाका अहिले तस्करी मात्र नभई हुन्डी कारोबारको पनि ट्रान्जिट प्वाइन्ट बनेको छ । मटर तस्करीमार्फत मोटो रकम कमाएका कुख्यात तस्कर उत्तम तिवारी, सन्दीप दास, राहुल चतुर्वेदी, धनञ्जय, धर्मेन्द्र, र स्वरूपलगायत अन्य तस्करहरू पनि सक्रिय छन् ।

अमरपट्टी प्रहरी चौकीका वरिष्ठ सई मदनबहादुर मल्ल र इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक स्वरूप शर्माले तस्कर समूहहरूबीचको विवाद मिलाउन समेत भूमिका खेलेको स्रोतको दाबी छ । प्रहरीले तस्करी नभएको प्रतिक्रिया दिने गरे पनि कुनै पनि दिन तस्करी रोकिएको छैन ।

राति १० बजेदेखि बिहानभर अमरपट्टी नाकाबाट पिकअप भ्यानमार्फत लसुन, अखरोट, पपकर्न, हड्डीको स्क्र्याप, काजुलगायतका सामग्रीहरूको तस्करी भइरहेको छ । विभिन्न पत्रपत्रिकामा तस्करीसम्बन्धी समाचार प्रकाशित भइरहे पनि आइतबार राति समेत अमरपट्टी नाकामा रातभरी खुलेआम तस्करी भएको स्रोतले जनाएको छ ।

 

लेखकको बारेमा

  • दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    ताजा अपडेट

    खोजी गर्नुहोस