सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो सम्पन्न (फोटोफिचर)

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ माघ २६, शनिबार (२ महिना अघि)
  • ५३ पटक पढिएको
सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो सम्पन्न (फोटोफिचर)

माघ २६, काठमाडौँ । चाबहिल स्थित सेन्ट लरेन्स कलेजको आयोजनामा २ दिने ‘सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो’ सम्पन्न भएको छ । बिहीबार विद्यालय परिसरमा आयोजित एक भव्य कार्यक्रमका बिच एक्स्पो’ सम्पन्न भएको हो । विज्ञान तथा आइटिले अबको विश्वमा नयाँ-नयाँ अवसरहरूको सिर्जना गर्ने हुँदा यी क्षेत्र प्रति विद्यार्थीहरूको रुचि जगाई त्यसमा भविष्य खोज्न उनीहरूलाई प्रोत्साहन गर्नका लागी कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ ।

सेन्ट लरेन्स स्कुलरकलेजका अध्यक्ष केशव प्रसाद दंगालको सभापतित्व तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. रविन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । सेन्ट लरेन्सका क्याम्पस प्रमुख पुरुषोत्तम महर्जन, प्रधानाध्यापक तारा प्रसाद सुवेदी, एकेडेमिक इन्चार्ज नवराज भण्डारी, कोअर्डिनेटर तेज तिमिल्सिना तथा श्याम कोइराला लगायत समेतको उपस्थितिमा उद्घाटन सत्र सम्पन्न भएको हो । त्यस्तै आमन्त्रित विद्यालयका प्रधानाध्यापकहरू र अन्य विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रूपमा कार्यक्रममा रहेका थिए । कार्यक्रममा विभिन्न १७ वटा सहभागी विद्यालयका प्रतिस्पर्धी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै सेन्ट लरेन्सका प्रधानाध्यापक तारा प्रसाद सुवेदीले उपस्थितिका लागि सबैलाई धन्यवाद दिए । उनले यस्तो उत्साहजनक उपस्थितिले सहभागी विद्यार्थीलाई प्रोत्साहन हुने भन्दै आइटी तथा विज्ञानको क्षेत्रमा केही योगदान गर्ने सेन्ट लरेन्सको अभियानको हिस्सा बनेकोमा आभार प्रकट गरे । कार्यक्रम सुरु हुनु अघि नै स्टलहरूको अवलोकन गर्दा निकै उत्कृष्ट सामग्रीहरू विद्यार्थीले तयार पारेको आफूले पाएको उनले उल्लेख गरे । प्रतियोगितात्मक कार्यक्रम भएको भए पनि जित्नु जतिकै महत्त्वपूर्ण भाग लिनु भएको भन्दै सुवेदीले सबैलाई सफलताको शुभकामना दिए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि डा ढकालले सुन्दर कार्यक्रममा सहभागी हुन पाउँदा गौरवको महसुस भएको उल्लेख गरे । उनले नास्टको काम भनेकै विद्यार्थीहरूका माझ विज्ञान सम्बन्धी काम गर्ने र अनुसन्धान गर्नेहरूलाई सघाउने भएको बताउँदै सहभागी विद्यार्थीहरूको विज्ञान प्रतिको लगाव देखेर आफू मोहित भएको बताए। उनले नास्टले आफै अनुसन्धान गर्ने, अनुसन्धान गर्नेहरूलाई सहयोग गर्ने, समुदायलाई आवश्यक विज्ञान दिने र विज्ञान सम्बन्धी समाजमा रहेका भ्रम चिर्ने काम गर्दै आएको भनाई राखे ।

अनुसन्धानका लागि विदेश नै जानुपर्छ भन्ने धारणा चिर्न नास्ट लागिपरेको भन्दै उनले स्याटलाइट बनाउन नासा जाने नभई नेपालमै त्यो काम गर्न सक्ने वातावरण बनाउनुपर्ने उल्लेख गरे । युवा तथा विद्यार्थीहरू सँग भएका आइडियालाई उत्पादन बनाउन सक्नुपर्ने धारणा राखेका उनले अन्वेषण गर्नेहरूलाई नेपाल सरकारले सहयोग गर्ने गरेको बताए । आजका युवाहरू हीनताबोध फालेर अघि बढ्नुपर्ने र त्यसो गर्न सके सफल हुने भन्दै उनले विद्यार्थीहरूको नयाँ आइडियालाई आविष्कार बनाउन नास्टले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस