माघ २६, ललितपुर । नगरलाई स्वच्छ,सफा, सुन्दर र हरियाली युक्त बनाउने उद्देश्यले ललितपुर चक्रपथ महानगर सफाइ अभियानले शनिबार नगर सफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
अभियान सुरु गर्दै प्रमुख अतिथी ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्वच्छ, सफा,मेरो धर्ती, मेरो दायित्व,मेरो जिम्मेवारी भन्ने भावना जागृत गराउँदै नागरिकलाई सूसुचित गराउन सके वातावरण सफाइ अभियान दीर्घकालीन रुपमा नै सफल हुने उल्लेख गरे । आफूले गरेको फोहोरको ब्यबस्थापन ब्यक्ती तथा समुदाय आफैंले गर्न सकेमा फोहरमैला ब्यबस्थापन सहज बन्दै जाने बताए ।
अभियानका संयोजक लक्ष्मी प्रसाद गेलाल उप संयोजक तथा सफाइ अभियान्ता सहदेव राउतले सफाइ जागरण बढाउँदै फोहरलाई उचित ब्यबस्थापन गर्न नागरिक शसक्तिकरणका लागि अभियान संचालन गरिएको जानकारी गराए ।
ललितपुर वडा नम्बर १० का अध्यक्ष रबिनमान ब्यन्जनकार, ललितपुरस्थित अभिभावक संघका अध्यक्ष देवराज लामिछाने,समाजसेवी टिकाराम दहाल लगायत नेपाल प्रहरी,नगर प्रहरी शिक्षक,विद्यार्थी ,स्काउट स्थानीय क्लब तथा महिला समुह लगायत ललितपुरस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सम्मिलित ललितपुर चक्रपथ महानगर सफाइ अभियानको २५४ औं हप्ताको कार्यक्रम कुपोन्डोलदेखि कानदेवता हुँदै पुल्चोकसम्म संचालन गरिएको अभियान सदस्य एल पि दवाडीले जानकारी दिए । यसैगरी ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ८ स्थित महालक्ष्मी बगैंचा पोखरी पनि सरसफाइ गरिएको थियो ।