माघ २७, काठमाण्डौँ । प्युठानको मल्लरानी गाउँपालिका–३ धरमपानीमा सुतली बम विष्फोट हुँदा एक बालक घाइते भएका छन् । बारीमा भेटिएको बम खेलाउने क्रममा विष्फोट हुँदा ११ वर्षीय सौरभ अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
बम विष्फोट हुँदा बालकको दाहिने खुट्टाको पैतलामा चोट लागेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए ।
घाइते बालकलाई जिल्ला अस्पताल विजुवारमा उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ । बँदेल मार्नका लागि प्रयोग गरिएको सुतली बम जस्तो देखिने आलु आकारको थप दुई वटा बमलाई बर्द बहादुर गणको टोलीले निस्क्रिया ९डिस्पोज० गरेको छ । प्रहरीले अनुसन्धानका लागि मल्लरानी गाउँपालिका–३ धरमपानी बस्ने ५८ वर्षीय मोहनबहादुर केसीलाई पक्राउ गरेको जनाएको छ ।
यता रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकास्थित नेपाली सेनाको ब्यारेज नजिकै बम फेला परेको छ । वडा नम्बर ६ बित्तास्थित लालीगुराँस सामुदायिक वन क्षेत्रमा आइतबार बिहान बम फेला परेको हो ।