माघ २९, काठमाण्डौँ । काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर अनलाइन बेटिङ गरी पक्राउ परेकाहरूलाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी २३ जनालाई सार्वजनिक गरेको हो ।
परिसर प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार उनीहरूले लोटस ३६५ नामक अनलाइनमार्फत् अर्बौंको कारोबार गरेको भेटिएको छ ।
उनीहरूले ३ अर्ब १३ करोड भन्दा बढी रकम कारोबार गरेको भेटिएको हो ।
पक्राउ परेका भारतीय नागरिकहरू नेपालमा एक वर्षअघि नै आएको अनुसन्धानमा देखिएको छ । यस्तै, उनीहरूले विभिन्न व्यक्तिहरूलाई बेटिङ गराएर ठगी समेत गरेको प्रहरीले जनाएको छ। उनीहरूबाट प्रहरीले ८८ वटा मोबाइल, १० वटा ल्यापटप र ८१ हजार नगद पनि बरामद गरेको थियो ।
अनुसन्धानकै क्रममा क्रिप्टो करेन्सीमा ८६ करोड ९१ लाख ९७ हजार बढीको कारोबार देखिएको एसपी बोहोराले बताए । उनका अनुसार यसबारे थप अनुसन्धान भइरहेको छ।