फागुन २, काठमाण्डौँ । विवादित धर्मगुरु विजय कृष्णमूर्तिले पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडको बाराही घाटमा आउँदो चैत १ देखि जेठ ३० गतेसम्म ‘श्री गण्डकी शत सय कुण्डीय गायत्री कोटीहोम विराट महायज्ञ’ आयोजना गर्ने घोषणा गरे ।
महायज्ञ आयोजनाको लागि कृष्णमूर्ति नेतृत्वको टोलीले नेपाल ट्रस्टको जग्गा भाडामा लियो। ४८ रोपनी जग्गाको भाडाबापत् नेपाल ट्रस्टले ११ लाख ५९ हजार रुपैयाँ भाडा पनि बुझ्यो ।
आयोजकले गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको मातहतमा रहेको पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र पोखरा महानगरपालिकाको वडा नम्बर ६ कार्यालयसँग अनुमति पनि लियो। पोखराका मेयर धनराज आचार्य स्वयंले मानव सेवा फाउन्डेसनबाट प्राप्त पत्रमा ‘आवश्यक कारबाही गर्नू’ भन्दै तोक लगाइदिए ।