फागुन १५, काठमाण्डौँ । कृषिमा यान्त्रिकीकरण हुन थालेपछि कञ्चनपुरमा व्यावसायिक खेती गर्ने किसानको संख्या बढ्न थालेको छ। खेत जोत्नका लागि आधुनिक ट्याक्टर, पावर टिलर, मिनी टिलरलगायतको प्रयोग हुन थालेपछि युवाहरूको आकर्षण कृषितर्फ बढ्न थालेको हो । कृषिमा यान्त्रिकीकरणलाई बढावा दिन प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले पनि महत्वपूर्ण भूमिका खेलेको छ ।
कृषि यान्त्रिकीकरणले कार्यबोझ घटाउने, थोरै समयमा धेरै कार्य गर्न सकिने, लागत खर्च घट्ने, जमिनको उत्पादकत्व बढाउने, जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न सहयोग पुर्याउने भएकाले यसतर्फ किसानको आकर्षण बढ्दै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कञ्चनपुरका प्रमुख सञ्जु उपाध्याय रिमालले बताइन् ।
किसानलाई सरकारी तवरबाट आधा मूल्यमै अनुदानमा कृषि उपकरण तथा औजार उपलब्ध गराउने व्यवस्था भएसँगै निकै सहज रूपमा कृषिजन्य कार्य गर्न सकिएको उनले बताइन् । रिमालका अनुसार परियोजनाबाट आर्थिक वर्ष ०७३/७४ देखि चालु आवसम्म जिल्लाका विभिन्न ठाउँमा गरी १० वटा कष्टम हायरिङ सेन्टर स्थापना गरी किसाानलाई सहुलियत दरमा कृषियन्त्र तथा उपकरणका माध्यमबाट सेवा प्रदान गरिँदै आएको छ।
धान सुपरजोन कार्यक्रम लागू भएका क्षेत्रमा स्थापना भएका सेन्टरबाट किसानले बजार दरभन्दा २० प्रतिशत सहुलियतमा कृषि औजार तथा उपकरण प्रयोग गरिरहेका छन् । जसकारणले उत्पादन लागतमा कमी आउनाका साथै कार्यबोझमा निकै कमी आएको पाइएको उनको भनाइ छ । केन्द्रलाई सातवटा ट्याक्टर, २२ वटा पावर टिलर, ११ वटा रिपर, दुईवटा ड्रन रिपर, पाँचवटा ट्याक्टर ट्राली, सात रोटाभेटर, लेजर ल्यान्ड लेभलर एका, धान थ्रेसर सात, गहुँ थ्रेसर पाँच, डिस्क ह्यायारो चारा, मल्टिक्रप सिड ड्रिल चार र पाँचवटा राइस ट्रान्सप्लान्ट अनुदानमा उपलब्ध गराइएका छन् ।