कुमारी सहकारी प्रकरण : एक अर्ब १३ करोड बिगो दाबीसहित २५ जनाविरूद्ध मुद्दा दर्ता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ फागुन १६, शुक्रबार (१ महिना अघि)
  • ३८ पटक पढिएको
कुमारी सहकारी प्रकरण : एक अर्ब १३ करोड बिगो दाबीसहित २५ जनाविरूद्ध मुद्दा दर्ता

फागुन १६, काठमाण्डौँ ।  बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित २५ जनाविरूद्ध रू एक अर्ब १३ करोड बिगो दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको छ ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराको सिफारिसमा जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धानपछि उनिहरूविरूद्ध बिहीबार म्याग्दी जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले माग दाबीसहितको अभियोगपत्र दर्ता गरेको हो ।संगठित रूपमा सहकारीमा निक्षेप रहेको शेयर तथा बचत रकम, संस्थाको सम्पत्ति र बाह्य ऋणवापतको रकम, नेपाल सरकारको राजस्वसमेत हानिनोक्सानी पुर्‍याइ सहकारी ऐन, २०७४ को नियमावली २०७५ र संस्थाको विनियमविपरीत गरेका उनीलाई सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन २०६४ बमोजिम थप अनुसन्धान र कारबाही गर्न पनि माग गरिएको छ ।

जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराम पौडेलले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम दर्ता भएको अभियोगपत्रका विषयमा आगामी आइतबारदेखि थुनछेक बहस सुरू हुने जानकारी दिए । ‘समय अभावका कारण प्राप्त भएको अभियोगपत्र दर्ता मात्र भएको छ’, उनले भने, ‘आइतबारदेखि थुनछेक बहस सुरू हुन्छ।’

सहकारीका वर्तमान र पूर्व सञ्चालक समितिका पदाधिकारी, सदस्य, लेखा र ऋण समितिका संयोजक तथा सदस्यलाई विपक्षी बनाइएको छ । २०८१ माघ २० गते पक्राउ परेका पाँच र फागुन ७ गते पक्राउ परेका एक जना प्रहरीको हिरासतमा र १९ जना फरार छन् । अनुसन्धान प्रभावित हुने भन्दै प्रहरी, वकिल कार्यालय र अदालतले पक्राउ नपरेका आरोपितको नाम सार्वजनिक गरेका छैनन् ।

बेनी नगरपालिका–१ का ३६ वर्षीय थापा कुमारी सहकारीका पूर्व सचिव, उपाध्यक्ष र ऋण समितिको पदाधिकारी हुन् । विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित थापा उक्त पार्टीको पूर्व जिल्ला उपसचिवको जिम्मेवारीमा थिए । थापाले सहकारीको रू १७ करोड ५८ लाख ६३ हजार चार सय २६ हिनामिना गरेको अनुसन्धानबाट पुष्टि भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस