प्रधानमन्त्रीद्वारा नेपाल मेडिकल कलेजले सञ्चालन गरेको स्वास्थ्य सेवाको प्रशंसा

प्रधानमन्त्रीद्वारा नेपाल मेडिकल कलेजले सञ्चालन गरेको स्वास्थ्य सेवाको प्रशंसा

फागुन १७,काठमाडौं । प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीद्वारा नेपाल मेडिकल कलेजले सञ्चालन गरेका सेवाहरूको प्रशंसानेपाल मेडिकल कलेजले आम सर्वसाधारणलाई सहज र सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा गरेका छन् । मंगलबार कलेजको रजत जयन्ती समारोह तथा नवनिर्मित डेण्टल भवनको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल सरकारका विभिन्न निकायबाट प्रदान गरिएका स्वास्थ्य बीमा कार्यक्रमसँगै गोकर्णेश्वर नगरपालिकासँग सहकार्य गरेर कलेजले प्रदान गर्दै आइरहेका स्वास्थ्य कार्यक्रमबाट गरिब, विपन्न तथा आम सर्वसाधारण नागरिकहरु लाभान्वित भएकोमा प्रशंसा गरे ।

‘नेपाल मेडिकल कलेजले देशभरका गरिब, विपन्न नागरिकको स्वास्थ्य सेवामा पुर्याएको योगदानको म प्रशंसा गर्दछु । सरकारका निकायहरुले सञ्चालन गरेका सबै सुविधाहरु यहाँ रहेछ । जनतालाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा दिएकोमा कलेजलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’ उनले स्वास्थ्य सेवासँगै मुलुकको लागि चाहिने दक्ष जनशक्ति उत्पादनमा पनि कलेजले महत्वपूर्ण योगदान पुर्याएकोमा प्रशंसा गर्दै सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्न प्रतिबद्ध रहेको बताए । यस्तै, उनले सुशासन र विकासका लागि वर्तमान सरकार बनेको भन्दै पछिल्लो समय मुलुकमा धेरै कामहरु भएको जिकीर गरे ।

तत्कालिन अवस्थामा अधिकांश चिकित्सा पेशामा संलग्न रहनुभएका व्यक्तित्वहरुको अठोटबाट चिकित्सा शिक्षा जस्तो तत्कालिन अवस्थामा नौलो व्यवसायिक काममा दुर्लभ आर्थिक श्रोत जुटाउने जमर्को गरी ‘‘नेपाल र नेपालीका लागि नेपालीकै लगानी’’ भन्ने मूल नाराका साथ २०५६ सालमा चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका विषयलाई एक साथ अगाडी बढाउन नेपाल मेडिकल कलेजको स्थापना भएको थियो ।
हालसम्म एमविविएसमा २ हजार २ सय ६२ जना, विडिएसमा ३ सय ३५ जना, विएस्सी नर्सिङ तर्फ २ सय जना, एमडि÷एमएसमा ३ सय १७ जना तथा एमएस्सी नर्सिङ, डिएम नेफ्रोलोजी, एमडिएसमा गरी कुल ३ हजार १ सय ५० जना दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न सफल भएको जनाउँदा कलेजबाट उत्पादित दक्ष जनशक्तिले राष्ट्रको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको तथा विदेशमा पनि अमेरिका, युरोप, अष्ट्रेलिया लगायत विश्वका विभिन्न भूभागमा सफलतापूर्वक सेवारत रहेका छन् ।

कलेजले साधारण देखि उच्चस्तर तथा विशिष्टीकृत स्वास्थ्य सेवाहरु प्रदान गरिरहेको, नेपाल सरकारको स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा, कर्मचारी सञ्चय कोषको स्वास्थ्य बीमा तथा गोकर्णेश्वर नगरपालिका स्थायी बासिन्दाका लागि सहुलियतपूर्ण स्वास्थ्य सेवा र विपन्न नागरिक उपचार कार्यक्रम सञ्चालन गरिरहेको छ । यस्तैगरी, निःशुल्क क्यान्सर उपचार सेवा तथा अत्याधिक समस्याका रुपमा देखिएको मिर्गौला रोगको उपचारको लागि सरकारले प्रदान गरिरहेको हेमोडायलाइसिस सेवा समेत सुचारु छ ।

ताजा अपडेट

खोजी गर्नुहोस