फागुन १८, वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सा तस्करीमा आक्रामक देखिएको छ । पर्सा प्रहरीले एक महिनामा आठ करोड भन्दा बढीको भन्सार छलीको सामान बरामद गरेको छ । एक महिनाअघि पर्सामा नयाँ प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक एसपी गौतम मिश्र पुगेका थिए । उनले आफ्नो सुरुवाती कार्यकालमा तस्करीविरुद्ध कारबाही चलाएका छन् ।
गत माघ १४ गते पर्सा प्रहरी प्रमुखको कार्यभार सम्हालेदेखि फागुन १४ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरूले ८ करोड १२ लाख, ८ हजार ५३ रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको छ ।
यस क्रममा पर्सा भन्सारबाट जाँच पास भएर छुटेका मालवाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । बिल बिजकभन्दा बढीको सामान ९तस्करी० लोड गरिएका ट्रकहरू प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रक र उक्त बरामद सामान राजश्व अनुसन्धान कार्यालय पथलैया तथा भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायव उपरीक्षक डिएसपी सुभाष भट्टका अनुसार सोही अवधिमा प्रहरीले २३ लाख रुपैयाँसहित तीन जना हुन्डी कारोबारीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ । एसपी गौतमको सक्रियता र विशेष सूचनाको आधारमा प्रहरीले सोही अवधिमा जिल्लाको विभिन्न ठाउँमा लगाइएको २८ कट्टा जग्गामा लगाइएको लागूऔषध गाँजा १३ हजार ४०० बोट, एक कठा जग्गामा लगाइएको अफिम पाँच बोट नष्ट गर्नुका साथै ७६ किलो आठ ग्राम गाँजा र २५ किलो चरेस बरामद गरिएको प्रहरीको तथ्याङ्कमा छ ।
त्यस्तै, एक महिनाको अवधिमा फैसला कार्यान्वयन तर्फ ३४४ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ, जसबाट ४८ लाख,४७ हजार ४२२ रुपैयाँ जरिवाना र १५ वर्ष १० महिना २२ दिन कैद भुक्तान भएको प्रवक्ता भट्टले जानकारी दिए । प्रहरीले पर्सामा घरेलु मदिराको उत्पादन तथा बिक्री(वितरणको गुनासो बढेसँगै प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ ।
जिल्लाको विभिन्न स्थानमा रहेको १४ वटा रक्सी भट्टीमा छापामारी ९ हजार ६५० लिटर कच्चा पदार्थ र ६४० लिटर तयारी मदिरा नष्ट गर्नुका साथै मदिरा उत्पादनमा प्रयोग गरिने विभिन्न उपकरण भाँडाकुँडा बरामद गरिएको तथ्याङ्कमा जनाइएको छ । वीरगंजस्थित होटेलहरूमा महिलालाई व्यावसायिक रूपमा यौन धन्दामा लगाएको सूचनाको आधारमा बसपार्कलगायत विभिन्न स्थानमा रहेका चार वटा होटेलमा छापामारी ६ जना महिलाको उद्धार गरिएको छ । यस क्रममा चार जना होटेल सञ्चालकलाई कारबाहीको दायरामा ल्याइएको जनाइएको छ ।
त्यस्तै, एसपी गौतम मिश्रको ३० दिने कार्यकालमा विभिन्न प्रकृतिका ६ वटा आपराधिक मुद्दा दायर गर्नुका साथै संलग्न एक महिलासहित ६ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ । त्यसै गरी, सोही अवधिमा प्रहरीको आयोजनामा ६२१ वटा सामुदायिक प्रहरी(साझेदारी कार्यक्रम भएको छ । जसबाट कुल २२ हजार १ सय ८३ नागरिक लाभान्वित भएको पर्सा प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । ‘प्रहरी सम्पूर्ण नागरिकको साथमा छ, ढुक्क भएर कुनै पनि विकृति वा अपराधबारे समयमै सूचना दिन पर्सावासीलाई म आग्रह गर्दछु,’ एसपी मिश्रले भने।
नागरिकको सहयोगबिना अपराध नियन्त्रण असम्भव रहेकाले सूचना दिने मानिसको गोपनीयता राखिने उनले विश्वास दिलाएका छन् । आफूले शून्य सहनशीलता साथ काम गर्ने तथा कुनै आपराधिक घटनामा प्रहरीले पूर्ण व्यावसायिक बनेर काम गर्ने एसपी मिश्रले प्रतिबद्धता जनाएका छन् । मिश्रले आक्रामक कारबाही थालेपछि एक महिनामै तस्करी, हुन्डी, लागूऔषध कारोबारीसँगै आपराधिक प्रवृत्तिका मानिसहरूमा त्रसित बनेका छन् ।
दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।