फागुन २०, काठमाण्डौँ । पाल्पाको जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको छचुवाका आगलागीपीडित घर, गोठ जलेपछि खुला आकाशमा रात काट्न बाध्य भएका छन् ।
यहाँको कुमाल बस्तीको छ घरगोठ जलेर पूर्ण रूपमा नष्ट भएपछि उनीहरु खुला आकाशमा रात बिताउन बाध्य भएका हुन् । आगलागीबाट छचुवाका धनबहादुर कुमाल, पदमबहादुर कुमाल, द्वन्द्वबहादुर कुमाल, हुमबहादुर कुमाल, गोपाल कुमाल र रीता कुमालको घर जलेर नष्ट भएको रैनादेवी छहरा–३का वडाध्यक्ष प्रदीप पौडेलले बताए ।
आगलागीबाट घरभित्रका अन्नपात, लुगाफाटा, केही नगदसहितका महत्त्वपूर्ण काजजात जलेर नष्ट भएपछि आगलागी प्रभावित परिवार पीडामा थिए । खाद्यान्न र त्रिपालको पर्खाइमा रहेका यहाँका पीडितपरिवार गाउँपालिकाले राहत सामग्री वितरण गरेपछि भने खुसी भएका छन् ।
गाउँपालिकाले तत्कालका लागि एक–एक बोरा चामल, नुन, तेल, दाल, तरकारी तथा आवश्यक त्रिपाललगायत राहत सामग्री दिएपछि पीडितको अनुहारमा खुसी छाएको हो । “आगलागीबाट हाम्रा सबै खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा र घरका अन्य सामान सबै जलेर नष्ट भए । हामीसँग खाने अन्न थिएन, ओत लाग्ने त्रिपाल पनि थिएन, दुुई–चार दिन निकै दुःखले दिन बितायौँ, अहिले पालिकाले दिएको राहत सामग्रीले केही सहयोग मिलेको छ”, पीडित पदमबहादुरले भने ।
गाउँपालिकाले घरमै पुगेर आवश्यक राहत सामग्री वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईसहितका जनप्रतिनिधि, कर्मचारीको टोलीले आगलागीपीडितको घरमा पुगेर राहत सामग्री वितरण गरे । अहिले तत्काल आवश्यक देखिएका सामानसहितको राहत प्रदान गरिएको उनले बताए। पछि प्रहरीको मुचुल्काअनुसार क्षतिका आधारमा पालिकाले घर निर्माणका लागि रकमसमेत उपलब्ध गराउने उनको भनाइ छ । आगलागीपीडित घरपरिवारको आर्थिक अवस्था कमजोर भएकाले पालिकासँगै अन्य पक्षबाट हुने सहयोगका लागि समन्वय गरिने अध्यक्ष भट्टराईले बताए ।