फागुन २४, काठमाण्डौँ । ‘महिला चलचित्र महोत्सव’मा चलचित्र पत्रकार एवं लेखक गीता अधिकारीसहित सात महिला स्रष्टालाई सम्मान गरिएको छ । बिहीबार सम्पन्न महोत्सवमा वरिष्ठ सामाजिक अभियन्ता अनुराधा कोइरालाको प्रमुख आतिथ्यतामा आत्यिथ्तामा अधिकारीसहित सात नारी स्रष्टालाई सम्मान गरिएको हो । गत मंगलबारबाट सरस्वतीनगर, चाबहिलस्थित चलचित्र विकास बोर्डमा सुरु भएको महोत्सव ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर बोर्डअन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तिकरण समितिले आयोजना गरेको थियो ।
महोत्सवको उद्घाटन काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले गरे । त्यसपछि ४२ वर्ष पुरानो चलचित्र ‘सिन्दूर’ प्रदर्शन गरिएको थियो । ‘सिन्दूर’ प्रदर्शनसँगै सुरु भएको महोत्सव बिहीबार अन्तिम दिन महिलाप्रधान नाटक ‘दृश्य परिदृश्य’ मञ्चनसँगै सकिएको हो ।
महोत्सवमा अभिनेत्री करिश्मा मानन्धर, रश्मी भट्ट, शोभा श्रेष्ठ श्रृंगारक, गीता अधिकारी चलचित्र पत्रकार, सरिता साह कलाकार तथा निर्देशक, पशुपति राई अभिनेत्री र थिन्ले ल्हामो अभिनेत्री सम्मानित भएका थिए ।
कार्यक्रममा बसुन्धरा भुसाल, भुवन चन्द, चैत्यदेवी, शम्भुजित बासकोटा, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, राजभाई सुवाल, मोहन निरौला, निर्मल शर्मा, जनकदीप पराजुली, रवीन्द्र खड्का, सुचित्रा श्रेष्ठ, रक्षा सिंह राणा, प्रदीप खड्का, केकी अधिकारी, यम बराल, सविन श्रेष्ठ, अनु शाह, विद्या कार्की लगायतको उपस्थिति थियो ।
कार्यक्रममा ललितकला कलेजका विद्यार्थीले ‘सिन्दूर’ चलचित्रका महिला चलचित्रकर्मीको बनाएको स्केच सम्बन्धित कलाकारलाई हस्तान्तरण गरिएको थियो ।
महोत्सवको दोस्रो दिन महिलाद्वारा निर्मित तथा महिलामाथि बनेका चलचित्र प्रदर्शन र ‘चलचित्रमा नारी’ विषयक संवादमा अभिनेत्री रेखा थापा, स्वस्तिमा खड्काले आफ्नो धारणा राखेका थिए ।