फागुन २५, काठमाण्डौँ । त्रिभुवन विमानस्थल प्रवेश र आसपासको सुरक्षा व्यवस्था कडा बनाइएको छ । आज (आइतबार) दिउँसो ३ बजे पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदै छन् । विभिन्न राजावादी संगठनहरू उनको स्वागतका लागि विमानस्थलसम्म जाने तयारीमा छन् ।
त्यस कारण विमानस्थल बाहिर चेकजाँचमा कडाइ गरिएको काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिएका छन् । उनकाअनुसार विमानस्थल अनधिकृत व्यक्तिहरूलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ। हवाइ टिकट भएका यात्रु र स्टाफ बाहेक अरुलाई एयरपोर्ट छिर्ने निषेध गरिएको छ । पूर्वराजा शाहको स्वागतमा समर्थकहरु विमानस्थल प्रवेश गर्न सक्ने भन्दै विमानस्थल वरपर ठाउँ ठाउँमा चेकिङ भइरहेको छ ।
गोल्डेन गेटबाट विमानस्थलमा आफन्त लिन जाने, पुर्याउन चाहनेहरुको लागि टिकटको चेक जाँच गरेर मात्रै पठाइरहेको छ भने पठाओ इन्डाइभहरुलाई प्रवेश गर्न दिइएको छैन । त्यस्तै विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटबाटै सडक एक तर्फी बनाइएको छ ।
जानको लागि गोल्डेन गेटको प्रयोग गर्न दिइएको छ भने बाहिर निस्कनको लागि एराइभरबाट पठाइएको छ । विमानस्थलबाट प्रहरीले भीड गरेर समेत दिइएको छैन । काठमाडौंको सबै स्थानमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । चोक–चोकमा प्रहरीको संख्या बढाइएको छ । एसपी बोहराका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभाग गरी झण्डै २४ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।