थाक्रे गाँउपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न, के-के विषय उठान भए ?

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ चैत्र ४, सोमबार (१ महिना अघि)
  • २०७ पटक पढिएको
थाक्रे गाँउपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न, के-के विषय उठान भए ?

चैत्र, धादिङ । थाक्रे गाँउपालिकामा गाँउपालिकाले आर्थिक बर्ष २०८०/०८१ मा हालसम्म गरेको सेवा प्रवाहको विषयमा केन्द्रित गरेर सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । सुनुवाईको क्रममा थाक्रे गाँउपालिकाका अध्यक्ष रामकुमार आचार्यले आर्थिक बर्षमा हालसम्म भएका कार्यक्रम तथा योजनाहरुको विषयमा प्रष्ट पारेका थिए । करिब सय भन्दा बढी स्थानीय तथा सरोकारवालाहरु उपस्थित कार्यक्रममा गाँउपालिका प्रमुख आचार्य,उपप्रमुख यन्त्रबहादुर थापा (जिन्दगी) ,प्रमुख प्रशासकिय अधिकृत बमबहादुर केसी, ११ वटै वडाका वडा अध्यक्ष,विषयगत शाखाका प्रमुखलाई स्थानीयले विविध विषयमा जिज्ञासा राखेका थिए ।

सहभागीहरुले गाँउपालिकामा बनेको प्रशासकिय भवनपरिसरमा बनेको पर्खाल भत्किएको,पालिकामा सञ्चालित खानी व्यवस्थित नभएको,पालिकाले विनियोजन गरेको बजेट समान नभएको, हालसम्म २० प्रतिशतसम्म पनि काम नभएको,विषयगत शाखामा कर्मचारीले काम नगरेको,किसानले ट्याक्टर नपाएको विषयमा प्रश्न राखेका थिए । खासगरी वडा नम्बर ३,६,१०,११ र पालिकाको शाखाहरुको कामको सवालमा सहभागीले प्रश्न उठाएका थिए । त्यसैगरी सहभागीले बाटो सफा गर्ने क्रममा मेशिन सञ्चालन सही ढंगले नभएको र गरेको कामको भुक्तानी नभएको विषयलाई  जोडले उठाएका थिए ।

सहभागीहरुको प्रश्नको उत्तर दिँदै पालिका प्रमुख आचार्यले गाँउपालिकाका जनप्रतिनिधिले विकास निर्माण, सुशासन र सामाजिक सुरक्षाको सवालमा अहोरात्र खटेर काम गरेको र केही गल्ती भएको पाइए आगामी दिनमा सुधार गर्दै अघि बढ्ने बताए । त्यसैगरी उपाध्यक्ष थापाले अनुगमन र नियमनलाई थप जोड दिएर काम गर्ने बताए । पमुख प्रशासकिय अधिकृत केसीले विकास निर्माणको योजना सम्झौतामा जनातालाई असहज हुने गरेर काम नगरेको बताए । उनले पालिकाबाट प्रवाह हुने सेवालाई थप चुस्तदुरुस्त बनाउन आफु सक्रिय भएको बताए ।

गाँउपालिका वडा अध्यक्षहरुले वडावासीको चाहना अनुरुप काम गर्ने बताए । सार्वजनिक सुनुवाईमा नेपाली कांग्रेस थाक्रेका उपसभापति धर्मराज खतिवडा, नेकपा एमालेका थाक्रेका नेता दिलिप पौडेल,राष्ट्रिय स्वतन्त्र पार्टी थाक्रेका सभापति जगन्नाथ आचार्य,नेकपा माओवादी केन्द्र थाक्रेका अध्यक्ष दयाराम कार्की लगायत नेताहरुको समेत उपस्थिती रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस