चैत्र ९, काठमाण्डौँ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका –१ मा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरमा चैत १६ गते शनिग्रह विशेष र साढेसाती पूजा हुने भएको छ ।
हालै निर्माण भएको नवग्रह मन्दिरमा लोककल्याण एवं शनिग्रह शान्तिका लागि १६ चैतमा विशेष पूजा हुन लागेको हो । यो पूजा नेपालमा पहिलो आयोजना गरिएको र जुन धार्मिक महत्वका दृष्टिले मात्र नभई सामाजिक र सांस्कृतिक दृष्टिकोणबाट समेत विशेष रहने बताइएको छ ।
चैत्र कृष्ण औंसीका दिनमा १६ गते शनिग्रह कुम्भ राशिबाट मीन राशिमा अर्थात् १२ औं घरमा प्रवेश गर्ने भएकाले त्यस दिन विशेष पूजा गरिने पालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए । विशेष पूजाको अवसरमा नवग्रहका स्वामी शिव, हनुमान तथा शनिदेवको अभिषेक एवं विधिपूर्वक पूजा गरिनेछ । साथै, शनिदेवको निशानप्रतिमा राखिएको रापाकोट कालिका मन्दिरमा समेत पूजा गरिनेछ । चैत १६ गते सूर्यग्रहण लाग्ने भएकाले यो दिनको पूजालाई अझ विशेष मानिएको छ ।