फोहोरमैला व्यवस्थापन र टोल सुधारका नमुना काम अवलोकन गरेर कटारी ३ को भ्रमण टोली फर्कियो

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ चैत्र १२, मंगलबार (१ महिना अघि)
  • २२८ पटक पढिएको
फोहोरमैला व्यवस्थापन र टोल सुधारका नमुना काम अवलोकन गरेर कटारी ३ को भ्रमण टोली फर्कियो

चैत्र १२,उदयपुर । फोहोरमैला व्यवस्थापन र टोल सुधार समितीको कामको अवलोकन तथा अध्ययन भ्रमणमा गएको उदयपुरको कटारी नगरपालिका वडा नम्बर ३ को भ्रमण टोली भ्रमण सकेर जिल्ला फर्किएको छ । वडा नम्बर ३ का अध्यक्ष पुष्कर खड्काको नेतृत्वमा वडाको फोहोर व्यवस्थापन गर्न कसरी सकिन्छ भनेर अध्ययन भ्रमणमा गएको थियो । कार्यपालिका सदस्य भगवती अधिकारी,वडा सदस्य युवराज अधिकारी,१२ वटै टोलसुधार समितीका पदाधिकारी सम्मिलित टोलीले फोहोर व्यवस्थापनको लागि देशभरीकै नमुना पालिका वालिङ नगरपालिकासहित विभिन्न पालिका भ्रमण गरेको हो ।

भ्रमण टोलीले काठमाडौँको चन्द्रागिरी नगरपालिकाको एफिएफ अस्पतालले गरिरहेको अत्याधुनिक फोहोर व्यवस्थापन फिल्डमै पुगेर अवलोकन गरेको थियो । जहाँ मुख्यगरी फोहोरको वर्गिकरणलाई व्यवस्थित र जोखिमरहित बनाएर राखिएको थियो ।

मुख्यगरी वालिङ नगरपालिकालाई केन्द्रित गरेर तय भएको भ्रमणमा टोलीले विभिन्न भुगोलमा रहेका पालिका तथा वडाको अवलोकन गरेको थियो । त्यसो त वालिङ नगरपालिकाले फोहोर व्यवस्थापनसंगै आम्दानी गरिरहेको छ । फोहोरको वर्गिकरण,डम्पिङ साइड व्यवस्थापन,फोहोरबाटै आम्दानी र सफा नगरपालिका योजनामा वालिङले आफुलाई अब्बल सावित गरेको छ । सोही क्रममा खड्काको नेतृत्वमा रहेको भ्रमण टोलीले वालिङको व्यवस्थित डम्पिङ साइड समेत अवलोकन गरेको थियो । अवलोकनपछि खड्काले फोहोरको डम्पिङ साइड नभनेर फोहोरको व्यवस्थापनमा सौन्दर्य कसरी जोड्न सकिन्छ भनेर आफुले थाहा पाएको बताए ।

भ्रमण टोलीले काठमाडौँको चन्द्रागिरी नगरपालिका,धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ को कार्यालय,पोखरा महानगरपालिका,वालिङ नगरपालिका र गैडाकोट नगरपालिका भ्रमण गरेको हो । भ्रमणपछि वडा अध्यक्ष खड्काले खासगरी कटारी नगरपालिकाको मुख्य शहरी केन्द्र भएकोले फोहोर व्यवस्थापन दिगो रुपमा व्यवस्थित गर्न अन्य पालिकासंग सिक्न र अनुभव आदानप्रदान गर्न भ्रमणले टेवा पुर्याएको बताए । खड्काले अनलाइनकेन्द्रलाई भने-‘केही सिक्न त कतै जानैपर्छ,हेर्नेपर्छ, हामीले वडामा भएका जनप्रतिनिधि र टोल सुधार समितीका पदाधिकारीलाई संगै लगेर फोहोर व्यवस्थापन र टोल सुधारका नमुना कामका विषयमा महत्वपुर्ण सिकाई सिकेर आएका छौँ ।’ उनले थपे-“हामी केवल भ्रमण गर्न मात्रै गएका हैनौँ,सिकेर,बुझेर र हेरेर आएका छौँ,वडामा छिट्टै फोहोर व्यवस्थापनको विषयमा केही गर्दैछौ ।”

यसो त कटारी नगरपालिकामा दिर्घकालिन फोहोर व्यवस्थापन हुन सकेको छैन् । नगरपालिकाको मुख्य शहर वडा नम्बर ३ मा फोहोर व्यवस्थापन पेचिलो बन्दै गैरहेको छ । स्थानीयले फोहोर व्यवस्थापनको लागि वडालाई दिगो समाधान निकाल्न आग्रह गरेपछि वडाका टोल समितीलाई समेत संगै लगेर अवलोकन गरेको हो ।

भ्रमणको क्रममा टोलीले निजि क्षेत्रको संस्था विभिन्न उद्योग बाणिज्य संघसंग पनि छलफल गरेको थियो । टोलीले पोखरा उद्योग बाणिज्य संघ,गैडाकोट जिल्ला उद्योग बाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुसंग खासगरी फोहोर व्यवस्थापनमा निजी क्षेत्रसंग सहकार्यका सन्दर्भमा छलफल गरेको थियो ।

भ्रमणको क्रममा चन्द्रागिरी नगरपालिकामा नगरप्रमुख घनश्याम गिरी, धुनिवेशी नगरपालिका वडा नम्बर ६ मा वडाका अध्यक्ष तथा नगर प्रवक्ता रमेश आचार्य,पोखरा महानगरपालिकामा प्रशासन प्रमुख कृष्णप्रसाद तिवारी,वालिङ नगरपालिकामा उपप्रमुख कविता गैह्रे तथा गैडाकोट नगरपालिकामा उपप्रमुख शान्ति कोइराला एवं प्रशासकिय अधिकृत झविन्द्र खनालले स्वागत गरेका थिए । भ्रमणलाई थप सिर्जनशिल र सिकाइयुक्त बनाउन पत्रकार राज ढुंगानाले सहजिकरण गरेका थिए ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस