पर्सामा प्रहरी र विद्यार्थीबिच विभिन्न सामाजिक घटनासम्बन्धी एक दिवसीय कार्यक्रम सफलतापूर्वक सम्पन्न

पर्सामा प्रहरी र विद्यार्थीबिच विभिन्न सामाजिक घटनासम्बन्धी एक दिवसीय कार्यक्रम सफलतापूर्वक सम्पन्न

चैत्र १८, वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी र विद्यार्थीबिच विभिन्न सामाजिक घटनासम्बन्धी एक दिवसीय कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रममा वीरगंजको पानीटंकीमा अवस्थित डेसिमल कलेजको कानुन सङ्कायमा अध्ययनरत ६० जना विद्यार्थीले सहभागिता जनाएको कार्यक्रममा प्रहरी कार्यालयका विभिन्न फाँटहरूको अवलोकन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक एसपी गौतम मिश्रले डेसिमल कलेजका संस्थापक अध्यक्ष सन्नी दुबेसहित सहभागी विद्यार्थीहरूलाई स्वागत गरेका थिए ।

एसपी मिश्रले जिल्ला प्रहरी कार्यालय पर्साबाट कार्यालयबाट प्रदान गरिने सेवाहरू, नागरिक सुरक्षामा प्रहरीको भूमिका र सामाजिक घटनाहरूको रोकथाममा युवाहरूको सहभागिताबारे विस्तृत जानकारी गराए । “हाम्रो उद्देश्य भनेको विद्यार्थीहरूलाई प्रहरीको कामकारबाहीबारे प्रत्यक्ष अनुभव गराउनु र उनीहरूको सहयोगमा समाजमा शान्ति(सुरक्षा कायम गर्नु हो,” एसपी मिश्रले भने ।

कार्यक्रममा डेसिमल कलेजका संस्थापक अध्यक्ष सन्नी दुबेले प्रहरी र विद्यार्थीबिचको संवादले कानुनको अध्ययन गरिरहेका विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान प्राप्त गर्न सहयोग पुगेको बताए । “आजको पहलले हाम्रा विद्यार्थीहरूलाई प्रहरीको दैनिक कार्य प्रणाली र चुनौतीहरू बुझ्ने अवसर दिएको छ । यस्ता कार्यक्रमले उनीहरूको शैक्षिक यात्रामा ठूलो योगदान पुर्‍याउनेछ,” दुबेले भने ।

कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले जिल्ला प्रहरी कार्यालयका विभिन्न फाँटहरूको अवलोकन समेत गरेका थिए । अवलोकनका क्रममा उनीहरूले अपराध अनुसन्धान, ट्राफिक व्यवस्थापन, महिला तथा बालबालिका सेल र सामुदायिक प्रहरी सेवाको बारेमा जानकारी लिए । त्यसपछि प्रहरी एसपी मिश्रको कार्यकक्षमा आयोजित एक घण्टे संवाद सत्रमा विद्यार्थीहरूले विभिन्न शीर्षकमा प्रश्न र जिज्ञासा राखेका थिए । संवादमा अपराध नियन्त्रण, साइबर सुरक्षादेखि सामाजिक जागरूकतासम्मका विषयमा छलफल भएको थियो ।

सहभागी विद्यार्थीहरूमध्ये कानुन संकायकी एक विद्यार्थीले कार्यक्रम आफ्नो लागि निकै उपयोगी भएको अनुभव सुनाइन् । “हामीले किताबमा पढ्ने कुरालाई यहाँ प्रत्यक्ष रूपमा देख्न र बुझ्न पायौँ । प्रहरी उपरीक्षकज्यूसँगको संवादले हामीलाई कानुन कार्यान्वयनको वास्तविक चुनौती थाहा पाउने मौका दियो । मलाई निकै प्रेरणा मिलेको छ,” उनले भनिन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने योजना बनाएको छ । प्रहरी र नागरिकबिचको सम्बन्ध सुदृढ गर्न र विशेष गरी युवा पुस्तालाई सचेत बनाउन पहल प्रभावकारी हुने आयोजकको विश्वास छ । सहभागी विद्यार्थी र प्रहरी अधिकारीहरूले संवादले दुवै पक्षलाई एक अर्काको दृष्टिकोण बुझ्न सहयोग पुगेको बताएका छन् ।

लेखकको बारेमा

  • दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    ताजा अपडेट

    खोजी गर्नुहोस