चैत्र २३, सुर्खेत । सुर्खेतमा गोली चलेको छ । सुर्खेतको वीरेन्द्रनगर–१० स्थित स्थानीय टीका रिजालको भान्सामा एक्कासी गोली खसेको हो । चैते दशैंको दिन घरमा खाना पकाउँदै गर्दा अज्ञात स्थानबाट प्रहार भएको गोली टिनको पाता छेडेर भान्सामा खसेको छ ।
गोली कसले र किन चलायो भन्ने खुलेको छैन । तर, रिजालको घरमा खसेको गोली भान्सामा खस्दा प्लास्टिक र फिउस आल्मुनियमको बाटामा प्वाल पारेको छ । आज चैते दशैं भएकाले हर्ष बढाइ गर्ने क्रममा गोली घरमा खसेको अनुमान जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्काले बताए ।
भेटिएको गोली एसएमजी, थ्रि नट थ्रि राइफल र एसएलआर हतियारमा लाग्ने हो । गोली भेटिएपछि गोलीको पहिचान र खसेको दिशा पत्ता लगाउन अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।