चैत्र २७, काठमाण्डौँ । सरकारले वार्ता, संवाद गर्न तेस्रो पटक गरेको प्रस्ताव पनि नेपाल शिक्षक महासंघले अस्वीकार गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकलाई वार्ता आउन मंगलबार विज्ञप्ति जारी गरेर छलफलका लागि बोलाएको थियो । मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवकुमार सापकोटाले शिक्षक प्रतिनिधिहरू वार्ता र संवादमा आउन महासंघलाई आग्रह गरेका थिए ।
शिक्षक महासंघले भने यति बेला वार्ता, संवाद र सहमतिभन्दा पनि विद्यालय शिक्षा ऐन चाहिएको भन्दै अहिलेकै अवस्थामा वार्ताको औचित्य नभएको जनाएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकका मागका सम्बन्धमा यसअघि नै सरकारसँग सहमति भएको बताए । ‘हामीसँग भएका सहमतिअनुसार शिक्षा ऐन जारी गरे हुन्छ,’ उनले भने, ‘अहिले हाम्रा मागका विषयमा छलफल गरिरहनु पर्ने आवश्यकता नै छैन ।’
यसअघि शिक्षा मन्त्रालयले चैत २१ र २२ मा वार्तामा बोलाउँदा पनि शिक्षकहरूले संवाद आवश्यक रहेको जवाफ दिएका थिए । २१ मा विज्ञप्ति र २२ मा पत्राचार गरेर वार्तामा डाकिएको थियो । चैत २० देखि शिक्षकहरू काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन् भने २५ देखि उनीहरूले देशव्यापी शैक्षिक आमहडताल घोषणा गरेका छन् । मंगलबार पनि उनीहरूले बत्ती बालेर माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका मागबारे अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री विद्या भट्टराईसँग छलफल गरेका थिए । छलफलपछि प्रधानमन्त्रीले संवाद र छलफलबाटै शिक्षकमा समस्या समाधान हुने प्रतिक्रिया सामाजिक सञ्जालमा दिएका थिए । शिक्षामन्त्री भट्टराईले प्रधानमन्त्रीसितको छलफलमा शिक्षकका तत्काल पूरा गर्न सकिने मागहरू अर्थ मन्त्रालयसँग समन्वय गरेर सम्बोधन गर्दै जाने निष्कर्ष निकालेको बताएकी छन्।