चैत्र ३१, काठमाडौँ । आन्दोलनरत शिक्षक र सरकारका प्रतिनिधिहरुबीच आज पनि वार्ता हुने भएको छ । शिक्षक–कर्मचारीहरुले शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरी काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।
शिक्षा मन्त्रालयका कर्मचारी र शिक्षक महासंघका प्रतिनिधिबीच बिहीवारदेखि सुरु संवाद शनिबार साँझसम्म पनि जारी थियो । आज आइतबार पनि दुबै पक्षबीच संवाद हुने बताइएको छ । शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुली संवाद सकारात्मक भएको बताउँछिन् । शनिबारको छलफल पछि पराजुलीले भनिन्, ‘संवाद सकारात्मक छ तर निष्कर्षमा पुग्न सकिएन ।’
उनका अनुसार शिक्षकका मागबारे शिक्षा मन्त्रालयका अधिकारीहरुले मन्त्रिपरिषदबाट गर्न सक्ने निर्णयबारे ब्रिफिङ गर्दै आइतबार अर्थ मन्त्रालयसँग बसेर छलफल गर्ने र पुनः शिक्षक महासंघसँग छलफल गर्ने बताएका थिए । शिक्षकहरुले राखेका मागबारे मन्त्रिपरिषद्बाट निर्णय भएमा र शिक्षा ऐन जारी गर्ने सुनिश्चितता भएमा आन्दोलनको मोडालिटी परिवर्तन गर्न सकिने उनले बताइन् । ‘क्याबिनेटले गर्ने निर्णय कुरा उहाँहरूको रहयो । विधेयकको काम रफ्तारमा गएको भन्नु भएको छ । ऐन जारी गर्ने सुनिश्चितता भयो भने आन्दोलनको मोडालिटी चेन्ज हुन सक्छ । तर मैले मात्र भनेर हुँदैन,’ उनले भनिन् ।
संसदको अबको अधिवेशन सुरु भएको पहिलो साता नै विधेयक पेस गर्ने सत्तारुढ दलहरूले बताउँदै आएका छन् । यसमा विश्वासिलो आधार शिक्षकहरूले खोजेका छन् । ‘संसदको शिक्षा समितिको उपसमितिले छिटो काम सकाएर अधिवेशनको पहिलो साता ऐन जारी हुने विश्वासिलो आधार चाहिन्छ,’ उनले भनिन् ।
यसअघि शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आगामी बजेटमा शिक्षकका माग सम्बोधन गर्ने सुनिश्चितता जनाउने बताएका थिए । ‘आगामी वर्षको बजेटबाट सम्बोधन हुन्छ । तत्काल आर्थिक वर्ष ०८२÷८३ मा सबै खालको समस्या समापनको वर्ष बनाउने गरी गृहकार्य भइरहेको छ,’ शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने, ‘ऐन निर्माण प्रक्रियाबाट हुन्छ । शिक्षक पनि राष्ट्रसेवक हो । गुनासो गर्ने ठाउँ नरहने गरी सम्बोधन हुन्छ । सरकार संवेदनशील भएर लागेको छ ।’