‘आनी’माथि यौन दुराचार प्रकरण

रामबहादुर बमजनलाई उच्च अदालतको सफाइ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख ४, बिहिबार (२ दिन अघि)
  • ७३ पटक पढिएको
रामबहादुर बमजनलाई उच्च अदालतको सफाइ

बैशाख ४,काठमाडौँ । ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बमजनलाई उच्च अदालतले सफाइ दिएको छ । उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै बमजन जेलमुक्त भएका छन् ।

सर्लाहीकी नाबालिका अनुयायी ‘आनी’माथि यौन दुराचार गरेको आरोप लागेका बमजनलाई उच्च अदालत जनकपुरले सफाइ दिएको हो ।

उच्च अदालत जनकपुरले सर्लाही जिल्ला अदालतको फैसला उल्ट्याउँदै बमजनलाई २०८१ चैत ६ गते सफाइ दिएको हो ।

न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले बमजनलाई बलात्कार मुद्दामा सफाइ दिएको अदालतका उप–रजिष्ट्रार सुशील यादवले बताए ।

बमजनलाई जिल्ला अदालत सर्लाहीले २०८१ असारमा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो । त्यसविरूद्ध उनले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।

‘जिल्ला अदालत सर्लाहीले गरेको १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय उच्च अदालतबाट उल्टी भएको छ, अदालतले दाबी नपुग्ने देखिएपछि उक्त मुद्दा नै खारेज भएको छ,’ यादवले भने ।

उच्च अदालतले फैसला गरेको बखत बमजन जिल्ला कारागार कार्यालय सिन्धुपाल्चोक थिए । उनलाई अर्की आनी फूलमाया रुम्बा बेपत्ता पारेको मुद्दाको सुनुवाइको लागि सिन्धुपाल्चोक कारागार स्थानान्तरण गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस