बैशाख ५,काठमाडौँ । सुदूरपश्चिमबाट सक्रिय भएको हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा गराउने प्रणाली कर्णाली, लुम्बिनी, गण्डकी, बागमती हुँदै कोशी प्रदेशसम्म पुगेको छ ।
स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव थपिएकोले हावाहुरी र चट्याङसहित केही ठाउँमा निकै ठूलो वर्षा गराएको जलवायु विपद् विज्ञ डा. धर्मराज उप्रेतीले बताए ।
जल तथा मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्कानुसार अहिले गण्डकी प्रदेशभन्दा पूर्वतर्फ धेरै ठाउँमा पानी परिरहेको छ । गण्डकीबाट पश्चिमतर्फ भने वर्षा रोकिन थालेको छ । ललितपुरको गोदावरीमा ३ घण्टामै ५६ मिलिमिटरभन्दा धेरै पानी परेको छ । यस्तै स्याङ्जामा ५१ मिलिमिटर र दोलखाको जिरीमा ४० मिलिमिटर वर्षा भएको छ । बितेको २४ घन्टामा वर्षा मापन भएका १ सय ८१ केन्द्रमध्ये सबैभन्दा बढी झापाको अनारमनी बिर्ता केन्द्रमा ७६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
अहिले सक्रिय भएको प्रणालीले आउँदो ३ दिनसम्म नै हावाहुरी, चट्याङसहित वर्षा गराउने सम्भावना रहेको मौसमविद्को अनुमान्छ । जल तथा मौसम विज्ञान विभागले यो हप्ताभरिकै मौसममा सुधार नआउने भएकाले गहुँ, मुसुरोलगायत बाली अर्को हप्तामात्रै भित्र्याउन भनेको छ ।
नेपालको आकाशमा सक्रिय रहेको प्रणाली शनिवारसम्म देशभर फैलिएर जाने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । प्रि–मनसुनयाममा अहिले उल्लेख्य वर्षा भइरहेको छ ।