काठमाडौँ । औषधि व्यवस्था विभागले पेटसम्बन्धी समस्या निको पार्ने दुई औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन जारी गरेको छ ।
विभागले बजार अनुगमनका क्रममा सङ्कलन गरिएको औषधिहरूका नमूना परीक्षण गर्दा औषधिहरू न्यून गुणस्तर पाइएपछि बजारबाट फिर्ता गर्न भनेको हो । ‘पिलपान ४० एमजी’ र ‘एसीटप ४० एमजी’ नामक दुवै औषधि परीक्षणका क्रममा गुणस्तरहीन पाइएको हो ।
औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी उक्त ब्याचका औषधिहरू बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरूलाई सूचनामार्फत निर्देशन दिइएको छ ।