डिष्ट्रिक्ट ३२५ एचको सेकेन्ड भाइस गभर्नरमा सुदामा कार्कीको उम्मेदवारी घोषणा

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख ९, मंगलबार (३ घण्टा अघि)
  • ४३ पटक पढिएको
डिष्ट्रिक्ट ३२५ एचको सेकेन्ड भाइस गभर्नरमा सुदामा कार्कीको उम्मेदवारी घोषणा

बैशाख ९,काठमाडौँ ।  ‘सधैं सकारात्मक सोच, दृढ निश्चय र निरन्तर प्रयासले मात्र सफलताको ढोका खुल्छ’, भन्ने भनाइ लायन सुदामा कार्की क्षेत्रीमा लागू हुन्छ। लायन सुदामा कार्कीले डिष्ट्रिक्ट ३२५ एचको सेकेन्ड भाइस गभर्नरमा उम्मेदवारी घोषणा गरेका छन् ।

सुदामा कार्कीको जन्म २०३१ सालमा चितवनमा एक सामान्य परिवारमा भयो। बाल्यकाल अभाव र संघर्षबीच बित्यो—न राम्रो लुगाफाटा, न पर्याप्त खाना, न किताब किन्ने सुविधा। तर, उनीसँग दृढ इच्छाशक्ति थियो। कयौं पटक भोकै र नांगो खुट्टा विद्यालय गएका कार्कीले च्यातिएको झोलामा किताब बोक्दै शिक्षा हासिल गरे। यी कठिनाइहरूमाथि विजय प्राप्त गर्दै, उनी आज सफल व्यवसायी मात्र होइन, सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन्।

बाल्यकालदेखि नै आफ्नो भाग्य भन्दा पनि परिश्रम र लगनशीलतामा विश्वास राख्ने कार्कीले जीवनका आरोह(अवरोह पार गर्दै व्यवसाय तथा सामाजिक क्षेत्रमा ठूलो पहिचान बनाएका छन्। उनले लाखौं पर्यटक भित्र्याएर देशको पर्यटन र अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएका छन्।

व्यवसाय र सामाजिक सेवामा सफलता

सुदामा कार्की अहिले अरोउन्ड द हिमालय प्रालि, ट्राभल्ट कर्पोरेशन नेपाल प्रालि, स्वीट होम प्रालि, बौद्ध स्तुपाभ्यू गेष्ट हाउस प्रालि लगायतका सफल व्यवसायहरूको नेतृत्व गरिरहेका छन्। सानो व्यवसायबाट ठूलो सपना बोकेर अघि बढेका उनी देशकै सफल उद्यमीमध्ये एक बन्न सफल भएका छन्।

सामाजिक सेवामा पनि कार्की उत्तिकै समर्पित छन्। कुण्डलिनी एजुकेशन फाउन्डेशनमार्फत ३५० भन्दा बढी विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएका छन्। त्यस्तै, गोर्कणेश्वरको बोटल हाउस अनाथालयमा ४० बालबालिकालाई आश्रय र शिक्षा दिइरहेका छन्, भने गोरखाको ग्रामीण क्षेत्रमा पनि २० बालबालिकालाई शिक्षादिक्षाको अवसर उपलब्ध गराएका छन्।

लायन्स क्लबको यात्रा

सन् २०१३ बाट लायन्स क्लबमा आवद्ध भएका कार्कीले लायन्स क्लब स्वीट होम भक्तपुरको चार्टर प्रेसिडेन्टका रूपमा सेवा यात्रा सुरु गरेका थिए। क्लब अध्यक्ष, जोन चेयरपर्सन, रिजन चेयरपर्सन, एरिया संयोजक लगायत विभिन्न पदहरूमा रहेर नेतृत्व गरेका छन्। हाल उनी डिष्ट्रिक्ट ३२५ एच नेपालका क्याबिनेट कोषाध्यक्षको जिम्मेवारीमा रहेर वित्तीय अनुशासन र पारदर्शितामा उत्कृष्ट कार्य गर्दै आएका छन्।

उनले इन्टरनेशनल लिडरसिप अवार्ड, इन्टरनेशनल प्रेसिडेन्ट सर्टिफिकेट, मेल्भिन जोन्स फेलो अवार्ड लगायत विभिन्न सम्मानहरू प्राप्त गरेका छन्।

सेवा भाव र नेतृत्व प्रतिबद्धता

भूकम्प तथा कोरोना महामारीका कठिन समयमा पनि उनले हजारौं पीडितहरूलाई राहत र सहयोग पुर्याएका छन्। त्यही सेवाभावका कारण उनी ‘कोभिड हिरो’ अवार्डबाट सम्मानित भएका थिए।

अब, उनी लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एच नेपालको आगामी कार्यकालका लागि सेकेन्ड भाइस गभर्नर पदमा उम्मेदवार बनेका छन्। पारदर्शी, कुशल व्यवस्थापन र उच्च आत्मबल भएका सुदामा कार्कीले सामूहिक उत्तरदायित्व र पारदर्शी ढंगबाट नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनी भन्छन्, ‘सेवा गर्ने ठाउँ हो, सबैलाई समान ढंगबाट उच्च मनोबलका साथ एकसाथ अघि बढाउने छु। कसैलाई पनि विभेद नगरी, डिष्ट्रिक्ट एचलाई एउटा परिवारको रूपमा अगाडि बढाउने छु।’

लायन्स लिडरहरूको क्षमता र नेतृत्व विकासमा ध्यान दिने, सदस्य विस्तार तथा क्लब गठनमा सक्रिय रहने, र डिष्ट्रिक्ट भवन निर्माण अभियानमा पनि नेतृत्व लिने उनको योजना छ। ४० भन्दा बढी देशको भ्रमण गरिसकेका सुदामा कार्कीले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने अनुभव र क्षमता पनि राख्छन्।

ताजा अपडेट

खोजी गर्नुहोस