काठमाडौं । मनाङको नासोँ गाउँपालिका–१ तालगाउँमा मस्र्याङ्दी नदी तटीय क्षेत्रका बासिन्दालाई बाढी सम्बन्धी पुर्वसुचना दिन साइरन जडान गरिएको छ । प्राकृतिक विपद्बाट बचाउन मानव विकास तथा सामुदायिक सेवा केन्द्र (एचडिसिएस) ले बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरेको हो ।
गाउँपालिका र एचडिसिएसको सहकार्यमा २६ लाख रुपैयाँको लागतमा तालगाउँमा साइरन जडान गरेपछि स्थानीय विपद्बाट बच्ने भन्दै खुसी भएका छन् ।
विसं २०७८ असार १ मा मनाङमा भीषण वर्षा भएको थियो । वर्षासँगै आएको बाढीले मस्र्याङ्दी नदी किनारका कैयौँ स्थानीयलाई घरबारविहित बनायो । बाढीले क्षतिग्रस्त भएपछि लामो समयसम्म गाउँले पालमुनि बस्न बाध्य भएका थिए ।
मस्र्याङ्दी नदी किनारसँगैको बस्ती भएकाले मनाङका अधिकांश घरमा बाढी पसेको थियो । पटकपटक बाढी आउँदा लाखौँको धनमाल गुमाएका तालगाउँवासीले अब विपद् आउनु पूर्व सूचना पाउने भएपछि खुसी भएका हुन् ।