जेठ १,काठमाडौँ । युरोकप च्याम्पियन पोर्चुगलले आगामी रुस विश्वकप २०१८ का लागि आफ्नो प्रारम्भिक ३५ खेलाडीको घोषणा गरेको छ । हिजो प्रशिक्षक फर्नान्डो सान्टोसले आफ्नो छनोट सार्वजनिक गरेका थिए ।
३५ सदस्य मध्ये अघिल्लो विश्वकपमा सामेल ११ खेलाडी रहेका छन् भने १९ खेलाडीले अघिल्लो वर्षको कन्फेडेरेसन कप खेलका थिए । ३५ नामहरुमध्ये सबैको नजर स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोमै रहेको छ । उनीसहित ब्रुनो आल्भेस, नानी र विलियम विश्व फुटबलमा अनुभवी नामहरु रहेका छन् ।
प्रारम्भिक टोलीमा समावेश नामहरुमा एडर र म्यानुयल फर्नान्डेस रुसमै घरेलु फुटबल खेलिरहेका छन् । पोर्चुगलले आफ्नो पहिलो खेल जुन १५ मा स्पेनसँग खेल्ने छ । त्यस्तै पोर्चुगलले जुन २० मा मोरक्को र जुन २५ मा इरानको सामना गर्ने छ । पोर्चुगलसहित सबै टोलीले अन्तिम २३ सदस्यीय टोली जुन ४ सम्म घोषणा गर्ने छन् ।