जेठ ७,काठमाडौँ । आन्द्रे इनियेस्टाले बार्सिलोनाबाट अन्तिम खेलपछि क्लब र समर्थकको प्रशंसा गरेका छन् । २२ वर्ष बार्सिलोनामा बिताएपछि उनले क्लब छाड्ने निर्णय लिएका हुन् । रियल सोसिडाडसँगको आइतबारको खेल बार्सिलोनाबाट उनको अन्तिम खेल थियो ।
ला लिगा च्याम्पियन बनिसकेको बार्सिलोनाले सोसिडाडलाई १–० ले हराएको थियो । खेल सकिएपछि समर्थकलाई सम्बोधन गर्दै इनियेस्टाले भने,‘ तपाईहरु सबैलाई सदाका लागि आफ्नो मुटुमा लिएर म जाँदैछु । यहाँ बिताएको २२ वर्ष मेरा लागि विशेष छन् । म गौरवान्वित छु । यो क्लबलाई प्रतिनिधत्व गर्न पाउनुमा मलाई खुसी छ ।’
उनले थपे,‘ म सबैलाई आदर र माया गर्छु । मलाई तपाईहरुले सानो उमेरदेखि माया दिनुभयो । एउटा मान्छे भएर क्लब छोड्दैछु ।’ खेलको अन्त्यतिर इनियेस्टाको ठाँउमा पाको अल्सासेरलाई प्रशिक्षक इर्निस्टो भाल्भेर्डेले मैदान पठाएका थिए ।
‘हामी जितका साथ अन्त्य गर्न चाहन्छौं । तर आज इनियेस्टाको दिन हो । समर्थकले त्यसलाई विशेष बनाइदिए,’ उनले भने,‘ म खेलको अन्त्यमा माहौल परिवर्तन गर्न चाहन्थे । लियोन मेस्सीलाई पनि हामी खेलको अन्त्यमा मैदानमा राख्न चाहन्थ्यौं । त्यो सहित समय थियो ।’ मेस्सी ६७ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
भाल्र्भेडेले इनियेस्टा जस्ता खेलाडीलाई भविष्यमा पनि लामो समय सम्म सम्झनामा रहने बताए । इनियेस्टा अर्को सिजन चीन वा जापान जाने अनुमान गरिएको छ । इनियेस्टाले बार्सिलोनामा ९ ला लिगा, ४ च्याम्पियन्स उपाधि जितेका थिए ।